काठमाण्डौ । नेपाल बीमा प्राधिकरणको निर्देशनमा सगरमाथा इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष २०७८–७९का लागि प्रस्ताव गरेको लाभांशमा संशोधन गरेको छ। 

गत पुस ५ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी कुल १३.१५७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो। जसमा १२.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.६५७९ प्रतिशत नगद लाभांश थिए। 

कम्पनीले प्रस्तावित लाभांश स्वीकृतिका लागि बीमा प्राधिकरणमा पेस गरेको थियो। तर, प्राधिकरणले प्रस्तावित लाभांश संशोधन गरी आगामी वार्षिक साधारणसभाबाट पारित गर्न स्वीकृति प्रदान गरेको छ। 

प्राधिकरणको निर्देशनबमोजिम कम्पनी सञ्चालक समितिको बैठकले प्रस्तावित लाभांशमा संशोधन गर्दै बोनस सेयर १२.४ प्रतिशत र कर प्रयोजनार्थ ०.६५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। 

प्रस्तावित लाभांश अब कम्पनीको आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि सेयरधनीहरुले पाउनेछन्।