– मनिष सोती

काठमाण्डौ । जीवन बीमा अभिकर्ताबाट अझै कुल ९० करोड ५७ लाख ९ हजार रुपैयाँ कर्जा भुक्तानी हुन बाँकी रहेको छ। 

नेपाल बीमा प्राधिकरणका अनुसार गत आर्थिक वर्ष २०७९–८० को अन्त्यसम्ममा १५ जीवन बीमा कम्पनीका अभिकर्ताबाट साढे ९० करोड रुपैयाँ अझै भुक्तानी हुन बाँकी रहेको हो। बीमा प्राधिकरण(साबिक बीमा समिति)ले २ वर्षयता बीमा अभिकर्तालाई दिइने कर्जा रोकेको छ। प्राधिकरणले बीमकको संस्थागत सुशासनसम्बन्धी निर्देशिका २०७६ लाई संशोधित गरी अभिकर्तालाई दिइने कर्जा रोक लगाएको हो। 

दुई वर्षदेखि अभिकर्ता कर्जा व्यवस्था हटे पनि ठूला रकम लिने अभिकर्ताबाट छुटपुट कर्जा भुक्तान हुन बाँकी रहेको प्राधिकरणले जनाएको छ। प्राधिकरणले २०७८ साल पुस महिनामा अभिकर्तालाई प्रदान गर्ने कर्जा बीमा व्यवसायमा अनुत्पादक हुने भन्दै कर्जा प्रदान गर्ने व्यवस्था हटाएको थियो।

यसअघि जीवन बीमा गर्ने बीमकले आफ्नो बहालवाला बीमा अभिकर्तालाई प्राधिकरणले समय–समयमा तोकेअनुसार कर्जा दिन सकिने व्यवस्था रहेको थियो। जीवन बीमा कम्पनीहरुले अभिकर्ताहरुलाई प्रोत्साहनबापत नगदसहित घर–जग्गा खरिदका लागि कर्जा दिने व्यवस्था थियो। 

घर–जग्गा खरिदका लागि कर्जा नपाउने भएपछि अभिकर्ताहरुले बीमकको संस्थागत सुशासनसम्बन्धी निर्देशिका पुनरावलोकन गर्न आग्रह गर्ने तयारीसमेत गरेका छन्। ‘अभिकर्ता कर्जा/सापटी रोकिँदा लाखौँ अभिकर्ताहरु मर्कामा परेका छन्’, अभिकर्ता संघका अध्यक्ष केदारनाथ अधिकारीले भने, ‘अभिकर्ता कर्जाभन्दा पनि यो अग्रिम कमिसन सापटी हो, यसकारण अभिकर्तालाई थप मोटिभेट गर्न प्राधिकरणले अभिकर्ता सापटी पुनः खुलाइनुपर्छ।’ 

अभिकर्तालाई दिँदै आइरहेको सापटी रोकिएपछि बीमकहरुको व्यवसायमा समेत प्रभाव परेको अध्यक्ष अधिकारीले बताए। ‘अभिकर्ता सापटीको व्यवस्था हुँदा अभिकर्ताहरुले लगानी गर्न पाउँथे’, उनले भने, ‘बीमा क्षेत्रमै सो रकम लगानी गर्दा बीमा व्यवसाय वृद्धिमा टेवा पुग्छ र यसलाई बीउपुँजीका रुपमा लिइनुपर्छ।’ 

यसका साथै अध्यक्ष अधिकारीले एकाध अभिकर्ताले बढी कर्जा वा सापटी लिँदा अन्य अभिकर्ताहरु मर्कामा परेको बताए। ‘बीमा प्राधिकरणले अभिकर्ता लाइसेन्समा कडाइ गरेसँगै एजेन्टहरु फिल्टर भइसकेका छन्, अबको अवस्थामा अभिकर्ता कर्जा खुलाउँदा बीमा क्षेत्रलाई नै फाइदा छ’, उनले भने। 

जीवन बीमक संघका अध्यक्ष पोषकराज पौडेल भने तत्काल अभिकर्ता कर्जा व्यवस्था खुलाउन नहुने बताउँछन्। उनी भन्छन्, ‘अभिकर्ताले अभिकर्ता लोन खुलाउनुपर्ने माग राख्नु जायज छ तर बीमा ऐन–२०७९ मा नै अभिकर्तालाई दिँदै आइरहेको सापटी तथा कर्जा व्यवस्था हटाइएको छ।’ 

अभिकर्ताहरुबाट अझै ९० करोड रकम भुक्तानी हुनै बाँकी रहेको अवस्थामा अभिकर्ता सापटी तथा कर्जा व्यवस्था पुनः खुलाउन तत्काल गाह्रो हुने पौडेलको भनाइ छ। ‘यसका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छ’, उनले भने। 

बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमा ऐन २०७९ बाट अभिकर्ताले पाउने कर्जा पूर्ण रुपमा बन्द भइसकेको बताए। ‘अभिकर्तालाई कमिशन दिइएको छ, तत्कालै कर्जा पाउने सुविधा सम्भव छैन’, पौडेलले भने, ‘बीमा ऐनबाट नै अभिकर्ता कर्जा हटाइएको हो, ऐनभन्दा बाहिर जान मिल्दैन।’

अभिकर्ताहरुले माग राख्दैमा बीमा ऐन नै संशोधन गर्न नसकिने पौडेलको भनाइ छ। 

कुन कम्पनीमा कति कर्जा भुक्तानी हुन बाँकी छ ? 

अभिकर्ता कर्जा शीर्षकमा आर्थिक वर्ष २०७९–८० को असार मसान्तसम्म सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा ३१ करोड ६१ लाख रुपैयाँ कर्जा भुक्तानी हुन बाँकी रहेको छ। कम्पनीमा अभिकर्ताको संख्या वृद्धिसँगै अभिकर्ताहरुले लिने कर्जाको सीमा बढेर भुक्तानी हुन बाँकी रकमसमेत बढी हुन पुगेको हो। 

दोस्रोमा हिमालयन लाइफ इन्स्योरेन्समा १४ करोड ३१ लाख रुपैयाँ कर्जा भुक्तानी हुन बाँकी रहेको छ। यसका साथै सुर्यज्योति लाइफमा १२ करोड ३४ लाख रुपैयाँ र नेसनल लाइफमा ११ करोड २९ लाख रुपैयाँ अभिकर्ताहरुबाट भुक्तानी हुन बाँकी रहेको छ। 

त्यस्तै लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल)मा ७ करोड ६ लाख रुपैयाँ, सिटिजन लाइफमा २ करोड ८८ लाख रुपैयाँ, एसियन लाइफमा २ करोड ५४ लाख रुपैयाँ, प्रभु महालक्ष्मी लाइफमा २ करोड ३ लाख रुपैयाँ, आइएमई लाइफमा १ करोड ९६ लाख रुपैयाँ, सानिमा रिलायन्स लाइफमा १ करोड ७२ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफमा १ करोड ७१ लाख, राष्ट्रिय बीमा संस्थानमा ६५ लाख, सन नेपाल लाइफमा ३८ लाख र सबैभन्दा थोरै मेट लाइफमा ३ लाख रुपैयाँमात्रै कर्जा भुक्तानी हुन बाँकी रहेको छ।