काठमाण्डौ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा कम्पनीहरुमा पर्ने दाबीहरुमा शंका बढ्न थालेको बताएका छन्।

काठमाण्डौमा आयोजित सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ‘एसपीआईएल–डिजी’ प्रणाली लन्ज कार्यक्रममा अध्यक्ष सिलवालले बीमा प्राधिकरणको दृष्टिकोणमा बीमा कम्पनीहरुमा पर्ने क्लेममा शंका बढ्न थालेको बताएका हु्न्। ‘बीमा कम्पनीहरुमा पछिल्लो समय दाबी भुक्तानीमा समस्या बढ्दै गइरहेको छ’, उनले भने, ‘बीमितबाट कम्पनीमा बीमा दाबी पर्यो कि शंका सुरु भयो भन्ने अवस्था सिर्जना भएको छ।’

अध्यक्ष सिलवालले बीमा कम्पनीहरुले दाबी भुक्तानीमा जोड दिनुपर्नेसमेत बताए। बीमितसमक्ष कम्पनीको विश्वास बढाउन क्लेम सेटलमेन्टमा जोड दिइनुपर्ने सिलवालको भनाइ छ। ‘जबसम्म कम्पनीका प्रोडक्टहरुलाई चुस्तदुरुस्त र स्वस्थ बनाउन सकिँदैन तबसम्म बीमितको आकर्षण बढ्दैन’, सिलवालले भने, ‘बीमा कम्पनीहरु सर्वसाधारणलाई सेवा गर्न खोलिएका हुन्, त्यसैले बीमितको सेवा–सुविधामा कम्पनीले ध्यान दिनुपर्छ।’ 

अध्यक्ष सिलवालले प्रत्येक बीमा कम्पनीहरु अब विद्युतीय भुक्तानी प्रणालीमा होमिनुपर्नेमा पनि जोड दिए। ‘विशेषगरी इन्स्योरेन्स पोलिसी, क्लेमका स्टेपलाई डिजिटल भुक्तानी माध्यमबाट गर्न मिल्ने बाटो खुलाइनुपर्दछ’, सिलवालले भने, ‘बीमा कम्पनीहरुले डिजिटल प्रणाली लागू गर्दै इन्स्योरेन्सका स–साना कुरा र टोटल फङ्सनलाई डिजिटल माध्यममा इन्सर्ट गर्न सक्नुपर्छ।’ 

यसका साथै अध्यक्ष सिलवालले बीमितहरुमा दाबी भुक्तानीको समस्यालाई हटाउन स–साना बीमांक रकमको क्लेम सेटल गर्नेगरी डिजिटल भुक्तानीका माध्यमहरु सञ्चालनमा ल्याउनुपर्नेमा जोड दिए। ‘बीमा कम्पनीहरुमा ४०–५० हजारको क्लेम सेटलमेन्ट गर्न समस्या छ, सबै कम्पनीहरुले स–साना बीमांक रकमको भुक्तानी गर्न सक्ने गरी विद्युतीय माध्यममा जोड दिनुपर्छ’, उनले थपे, ‘बीमा कम्पनीहरुले पोलिसी रियल टाइममा लिने क्लेम सेटलमा झन्झट बनाइदिने प्रवृत्ति छ, यस्तो कम्पनीलाई प्राधिकरणले निगरानी गर्नेछ।’