काठमाण्डौ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले सिंगो बीमा व्यवसायको विकास एवं विस्तारका लागि प्राधिकरणले सहयोगीका रुपमा भूमिका निर्वाह गर्दै आएको बताएका छन्। 

विजयादशमी, शुभ दीपावली तथा छठ पर्वको उपलक्ष्यमा आज प्राधिकरणको केन्द्रीय कार्यालयमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा अध्यक्ष सिलवालले यस्तो धारणा राखेका हुन्।

उनले बीमा बजारलाई सुधार गर्दै अघि बढ्नुपर्नेमा जोड पनि दिए। ‘प्राधिकरण र बीमकहरु एकअर्काका परिपूरक भएकाले सोहीअनुसार क्रियाकलापहरु अगाडि बढाउनुपर्यो, बीमकहरुले बजारमा देखिएको अविश्वास हटाउनु पर्यो, प्रदेश तथा शाखा कार्यालयलाई अधिकार प्रत्यायोजन गर्नुपर्यो, बीमासम्बन्धी अन्तर्राष्ट्रिय मान्यतामा रहेर बीमालेखका प्रावधानहरुलाई सामान्यीकरण गर्नुपर्यो, वैध रुपमा मुनाफा हुने बाटो खोज्नुपर्यो, बीमा बजारमा सकारात्मक परिवर्तन आउने गरी अघि बढ्नुपर्यो’, उनले भने। 

अध्यक्ष सिलवालले बीमकहरुले पनि सरकारलाई बीमाका बारेमा बुझाउन र वार्षिक बजेटमा बीमा शीर्षकमा सःशर्त बजेट विनियोजन गर्न पहल गर्नुपर्ने उल्लेख गरे। उनले त्यसो भएमा न्यून आय भएका वर्गको बीमा हुनुका साथै गरिबी न्यूनीकरणमा समेत टेवा पुग्ने बताए। 

कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमा क्षेत्रमा देखिएका समस्या समाधान गर्दै सिंगो बीमा व्यवसायलाई स्वच्छ एवं मर्यादित रुपमा अगाडि बढाउनुपर्नेमा जोड दिए। 

कार्यक्रममा बीमा प्राधिकरणका निर्देशकहरु, जीवन बीमक संघ नेपाल तथा नेपाल बीमक संघका पदाधिकारी र जीवन बीमा कम्पनी, निर्जीवन बीमा कम्पनी, लघुबीमा कम्पनी तथा पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरुको सहभागिता थियो।

कार्यक्रमको सञ्चालन बीमा प्राधिकरणका निर्देशक दिनेशकुमार लालले गरेका थिए।