काठमाण्डौ । बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरुले १ करोड ३० लाख हाराहारीसम्म तलब भत्ता खाने गर्दछन्। तलब भत्तासँगै बीमा कम्पनीका सीईओहरुलाई बीमाशुल्क सुविधा र अन्य सुविधासमेत आफ्नो कार्यकालसम्म प्राप्त हुन्छ। 

तत्कालीन बीमा समितिले जारी गरेको बीमकको कार्यकारी प्रमुखको तलब, भत्ता तथा अन्य सुविधासम्बन्धी मार्गदर्शन, २०७४ बमोजिम बीमा कम्पनीले कार्यकारी प्रमुखलाई दफा ४ को उपदफा (२) को सीमाभित्र रही विभिन्न बीमाको बीमाशुल्क प्रदान गर्न सक्नेछ भनी उल्लेख छ।

मार्गदर्शनबमोजिम बीमा कम्पनीहरुले सीईओलाई सावधिक जीवन बीमा, दुर्घटना बीमा र निजको एकाघर परिवारको स्वास्थ्य बीमाका लागि बीमाशुल्क उपलब्ध गराउनेछन्। तर, बीमा कम्पनीले मागर्दशर्नको दफा ४ को उपदफा (२)मा भएबमोजिम विगत ३ आर्थिक वर्षको औसत कर्मचारी खर्चको ६ प्रतिशतसम्म र ३ आर्थिक वर्षको अन्तको औसत कुल सम्पत्तिको क्रमशः ०.१ प्रतिशत र ०.५ प्रतिशतसम्मको आधारमा गणना गर्दा जुन मापदण्डबाट न्यूनतम रकम आउँछ, सोहीअनुरुपको निश्चित वार्षिक तलब–भत्ताअनुसारकै बीमाशुल्क उपलब्ध हुनेछ। 

यसका साथै बीमकको कार्यकारी प्रमुखको तलब, भत्ता तथा अन्य सुविधा मार्गदर्शन, २०७४ बमोजिम बीमा कम्पनीका सीईओहरुलाई अन्य सुविधाहरुसमेत उपलब्ध हुनेछ। मार्गदर्शनबमोजिम १ थान मोबाइल सेट र सोको वास्तविक खर्च, १ थान ल्यापटप, १ लाइन इन्टरनेट जडान र सोको वास्तविक खर्च, सवारीसाधनका लागि आवश्यक पर्ने इन्धन र चालक वा नेपाल सरकारको प्रथम तहसरहको चालक खर्च, बीमा कम्पनीले कर्मचारीलाई छुट्याएको सेयरबापतको अंश माध्यमबाट कार्यकारी प्रमुखले प्राप्त गर्न सक्ने सेयरबापतको रकम चुक्ता प्रदान गरिने सेयरको सुविधा प्राप्त हुन्छ। 

त्यस्तै, कार्यकारी प्रमुखलाई अन्य र व्यावसायिक सदस्यता र पत्रपत्रिकाका लागि दफा ४ को उपदफा (२) बमोजिम हुन आउने वार्षिक तलब–भत्ताको १ प्रतिशतसम्म खर्च सुविधा र विदेश यात्रामा जाँदा यात्रा अवधिभरिका लागि दिइने यात्रा तथा स्वास्थ्य (ट्राभल तथा मेडिक्लेम इन्स्योरेन्स)को सुविधा बीमा कम्पनीले सीईओलाई उपलब्ध गराउनेछ।