-मनिष सोती
काठमाण्डौ । एक दिनमै एमडीआरटी क्वालिफाइड ? झट्ट सुन्दा यो अपत्यारिलो लाग्न सक्छ ।

जीवन बीमा अभिकर्ताहरु एमडीआरटी, सीओटी तथा टीओटी क्वालिफाइड हुन दिनरात प्रयास गरिरहेका हुन्छन् ।

बीमा अभिकर्ताहरु माझ एमडीआरटी क्वालिफाइड हुनु एउटा सफलता प्राप्त गर्नु मानिन्छ ।
 

मिलियन डलर राउण्ड टेबुल (एमडीआरटी) अन्तर्गत तीन तहको योग्यताक्रम निर्धारण गरिएको हुन्छ । पहिलो एमडीआरटी, दोस्रो सीओटी र तेस्रो टीओटी । यी तीन तहकालागि योग्य बन्न अभिकर्ताले तोकिएको बीमाशुल्क संकलन गर्नुपर्ने हुन्छ । 
 

सन् २०२३ मा कुल ३७ लाख ९२ हजार ३०० रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गर्नेलाई एमडीआरटी, कुल १ करोड १३ लाख७६ हजार रुपैयाँ प्रथम बीमा शुल्क संकलन गर्नेलाई टीओटी र कुल २ करोड २७ ५३ हजार प्रथम बीमा शुल्क संकलन गर्नेलाई सीओटी तहको सदस्यतावितरण गरिने व्यवस्था छ । 

नेपालको सन्दर्भमा अधिकांश अभिकर्ताहरुले एमडीआरटीसम्मको लक्ष्य पुरा गरेका हुन्छन्् । सक्रिय रुपमा लागि परेका अभिकर्ताहरुले वर्षभरी संकलन गरेको बीमाशुल्क गणना गरी एमडीआरटी क्वालिफाइड हुन्छन् । तर पोखरा–६ लेकसाइडका कृष्ण अधिकारीले एक दिनमै एमडीआरटीको लक्ष्य पुरा गरी २०२४ को लागि एमडीआरटी क्वालिफाइड बनेका छन् ।

नेपाली जीवन बीमा क्षेत्रमा सम्भबतः यो पहिलो इतिहास नै हो । अभिकर्ताहरुलाई एमडीआरटी क्वालिफाइड हुन डिसेम्बर ३० सम्मको अवधि तोकिएको हुन्छ । उनले  एमडीआरटी टार्गेट पुरा गर्ने अवधिको केवल एक साताअघि मात्रै एजेन्ट कोड निकालेका थिए । 
 

हिमालयन लाइफ इन्स्योरेन्सबाट अभिकर्ताको सेल्फकोड निकालेर उनले आफुसहित आफ्ना साथीहरुको बीमा गराई एमडीआरटीको टार्गेट पुरा गरेका छन् । एमडीआरटी क्वालिफाइड भएपछि थप ऊर्जा मिलेको र बीमाप्रतिको धारणा नै परिवर्तन भएको उनी बताउँछन् । 
 

‘एमडीआरटी क्वालिफाइड भइसकेपछि अझै ऊर्जा मिलेको छ, बीमाबारे जानकारी त थियो नै अझ बढी बुझ्ने मौका पाएँ’,उनले भने, ‘अभिकर्ता बनिसकेपछि बीमा सबैको लागि अनिवार्य रहेको र जति रुपैयाँको सकिन्छ त्यतिको भएपनि बीमा गर्नुपर्ने रहेछ भन्ने बुझें ।’ 
 

पोखरा घर भएका अधिकारीले आफ्नो व्यवसायसँगै बीमा अभिकर्ता पेशालाई पनि सेकेण्डरी रुपमा निरन्तरता दिने बताउँछन् ।

‘मुख्यतःपर्यटन व्यवसायलाई प्राथमिकता दिंदै सेकेण्डरी व्यवसायको रुपमा बीमा अभिकर्ता पेशालाई समेत निरन्तरता दिनेछु’ उनले भने, ‘बीमा अभिकर्ता पेशालाई पेशाको रुपमा मात्रै नलिई सेवाको हिसाबमा लिन चाहन्छु ।’ 
 

अधिकारी पोखराका पर्यटन व्यवसायी  पनि हुन् । साथै उनको लेकसाइडमा ‘कफि ब्रेक रेष्टुरेन्ट’ पनि छ । आफ्नो व्यवसायलाई निरन्तरता दिने क्रममा साथीभाईको कुरा सुनेर अभिकर्ताको कोड निकालेको उनले बिजशालालाई बताए । 

‘साथीहरुसँग कुरा गर्ने क्रममा अभिकर्ता कोड निकालेर बीमा गर्ने रहर जाग्यो । सुरुमा आफ्नो १ करोड रुपैयाँको बीमा गरे । त्यसपछि आफ्नै साथी सर्कलको थप ४ करोड रुपैयाँ गरी कुल ५ करोड रुपैयाँको बीमा एकैदिन गरको हुँ’, उनले भने । 
 

नेपाल जस्तो विकासोन्मुख देशका नागरिकले अनिवार्य रुपमा जीवनबीमा गनुपर्नेमा उनी जोड दिन्छन् । 
 

‘अन्य विकसित राष्ट्रमा ९९ प्रतिशत नागरिकको जीवन बीमा हुने गर्दछ, त्यसैले उनीहरुको जीवनपनि सुरक्षित छ’ उनी भन्छन्, ‘नेपाल जस्तो देशकालागि त झनै जीवन बीमा अनिवार्य हुनु अति आवश्यक छ, भविष्यमा हुन सक्ने आर्थिक जोखिम समेत बहन हुने भएकोले सबैले अनिवार्य जीवन बीमा गर्नैपर्छ ।’
 

हिमालयन लाइफ इन्स्योरेन्समा लगातार ६ पटक एमडीआरटी बनेका अर्का अभिकर्ता रेशम गौतमको माध्यमबाट आफु बीमा क्षेत्रमा प्रवेश गरेको अधिकारी बताउँछन् । ‘म एक्लैले यति छोटो समयमा नै एमडीआटी क्वालिफाइड हुनु गाह्रो हुन्थ्यो ।
 

६ पटक एमडीआरटी बनेका रेशम गौतमको सर्पोटले गर्दा एकैदिनमा एमडीआरटीको लक्ष्य पुरा गर्न सफल भएँ’, उनले भने । 

सन् २०२४ को ग्लोबल कन्फ्रेन्स आगामी अगष्ट २७ देखि ३० गतेसम्म युएईको दुवईमा हुँदैछ ।

एमडीआरटीका लागि क्वालिफाइड भएका अभिकर्ताहरुले ग्लोबल कन्फ्रेन्समा भाग लिन आफुलाई रजिष्टर गर्नुपर्ने हुन्छ । 
 

अधिकारीले पनि एमडीआरटी ग्लोबल कन्फ्रेन्समा सहभागी हुन तयारी गर्ने बताएका छन ।

‘ग्लोबल कन्फ्रेन्स अभिकर्ताहरुका लागि धरै कुरा बुझ्ने एउटा प्ल्याटफर्म पनिहो । म जस्ता नयाँहरुका लागि त झनै यो उपयुक्त अवसर हो । कन्फ्रेन्समा सहभागी हुन अभिकर्ताले गर्नुपर्ने सम्पूर्ण तयारी गर्ने छु’, उनले भने ।