काठमाण्डौ । प्रतिकित्ता १ हजार रुपैयाँ भन्दा बढीमा कारोबार भइरहेको प्रभूू इन्स्योरेन्सको सेयर बोलकबोलमार्फत खरीद गर्न पाइने भएको छ । 

यो बिमा कम्पनीले बिक्री नभएको ४८ हजार १ सय २२.८१ कित्ता सेयर जेठ ३१ गते(भोलि)देखि लिलामीमा राखेको हो । 

गत चैत ३० गतेदेखि यो कम्पनीले २ बराबर १ को अनुपातमा कुल १९ लाख २५ हजार ७८ कित्ता हकप्रद सेयरधनीका लागि निश्कासन गरेको थियो । तर, संस्थापकतर्फ ५ हजार ३ सय ३४.४९ कित्ता र सर्वसाधारण समूहतर्फको ४२ हजार ७ सय ८८.३२ कित्ता बिक्री भएको थिएन । बिक्री नभएको त्यही सेयर बोलकबोलमार्फत बिक्री गर्ने उद्देश्यले लिलामीमा राखिएको हो । 

लिलामीमा सहभागी हुन चाहनेले जेठ ३१ गतेदेखि असार ७ गतेसम्म आवेदन दिइसक्नुुपर्नेछ । असार ८ गते लिलामीको अन्तिम नतिजा प्रकाशन हुने बिक्री प्रबन्धकको काम गरिरहेको प्रभूू क्यापिटलले जनाएको छ । 

यो बिमा कम्पनीको सोमबारको प्रति कित्ता सेयर कारोबार मूल्य १ हजार ७० रुपैयाँ रहेको छ ।