काठमाण्डौ । बैंक तथा बित्तीय संस्थामा देखिएको तरलता समस्या समाधानका लागि बुधबार नेपाल राष्ट्रबैंकले थप १० अर्ब रुपैयाँ बजारमा प्रवाह गर्ने भएको छ । 

केन्द्रीय बैंकले बुधबार १० अर्ब बराबरको सरकारको विकास ऋणपत्र सोझै खरीदका लागि बोलकबोलको सूचना जारी गरेको हो । 

बैंकले आइतबार मात्रै ५ अर्ब बराबरको विकास ऋणपत्र समेत सोझै खरीदका लागि बोलकबोल आह्वान गरेकोमा अचाक्ली बोलपत्र परेको थियो । यही कुरालाई मध्यनजर गर्दै बैंकले पुनः १० अर्ब रुपैयाँ बैकिङ प्रणालीमा प्रवाह गर्न लागेको हो । 

यो रकम बजारमा गएपछि उच्च दरले बढिरहेको ब्याजदरमा स्थिरता आउने र बजारको आत्मबल बढ्ने अपेक्षा गरिएको केन्द्रीय बैंकका अधिकारीहरुले दाबी गरेका छन् ।

बैंक तथा बित्तीय संस्थाका सीइओहरुले भने ऋणपत्रमार्फत रकम प्रवाह गरेर मात्र समस्याको दीर्घकालीन समाधान नहुने बताउँछन्। उनीहरु कर्जा पुँजी निक्षेपको अनुपात सीसीडीसम्बन्धी विद्यमान व्यस्थामा नै परिवर्तनको माग गरिरहेका छन्। एक बैंकरले भने–‘हामीले खोजेको लगानीयोग्य तरलता हो ।’

केन्द्रीय बैंकका अधिकारीले बैंकहरुले १ सय ६ अर्ब बराबरको स्रोत निक्षेपको परिचालन गर्दा कर्जा बिस्तार भने १ सय ६० अर्ब पुर्याएका बताए । यहीकारण समस्या विकराल बनेको बताइएको छ ।