काठमाण्डौ । बेलायतको हप्तामा ४ दिन काम गर्ने विश्वको सबैभन्दा ठूलो ‘पाइलट योजना’ मंगलबार सार्वजनिक गरिएको निष्कर्षमा सफल भएको घोषणा गरिएको छ। 

परीक्षणमा संलग्न अधिकांश कम्पनीले ४ दिनकार्य हप्ता मोडेलमा जारी राख्ने बताएका छन्। गत वर्ष जुनदेखि डिसेम्बरसम्म बेलायतमा गरिएको परीक्षणमा बेलायतका विभिन्न क्षेत्रका कुल ६१ कम्पनीले भाग लिएका थिए। गैरनाफामुखी फोर डे विक ग्लोबलले आयोजना गरेको पाइलट योजनाअन्तर्गत करिब ३ हजार बेलायतका कामदारलाई ४ दिनको काम गर्ने हप्ताका लागि समान तलब प्रस्ताव गरिएको थियो।

बोस्टन कलेजका प्रमुख अनुसन्धानकर्ता प्रोफेसर जुलिएट स्कोरले विभिन्न प्रकारका कार्यस्थलमा परिणामहरु धेरै हदसम्म स्थिर रहेको बताए। ‘यसले देखाउँछ कि यो एक नवीनता हो, जुन धेरै प्रकारका कार्यस्थलमा अनुकूल छ’, उनले भने।

अक्सफोर्ड र क्याम्ब्रिजका विश्वविद्यालयहरु पनि परीक्षणमा संलग्न थिए। ‘त्यहाँ केही रोचक भिन्नताहरु पनि छन्’, स्कोरले भने, ‘हामीले फेला पारेका छौँ कि गैरनाफा र व्यावसायिक सेवाहरुमा संलग्न कर्मचारीहरुले व्यायाममा बिताएको समयको औसत मात्रा बढाएको छ, जब कि निर्माणका काम गर्नेहरुले थकाउने काम र निद्रा समस्याहरुबाट राहत पाएका छन्।’

स्कोरका अनुसार पाइलट योजनाको नतिजाले लगभग सबै कम्पनीले ४ दिनको काम हप्तामा जारी राख्न चाहेको पाइएको छ। परीक्षण योजनामा संलग्न ९१ प्रतिशत कम्पनीले यसलाई निरन्तरता दिने र ४ प्रतिशतले यसलाई निरन्तरता दिनेमा विचार गर्ने र ४ प्रतिशतले हप्तामा ४ दिन काम नगर्ने निर्णय गरेको स्कोरले बताए।

‘पुरुष र महिला दुवैले ४ दिनको काम हप्ताबाट फाइदा लिन्छन् तर महिलाको अनुभव सामान्यतया राम्रो हुन्छ’, फोर डे विक ग्लोबलका सीईओ डा डेल वेल्हेनले भने।

जीवन र कामको सन्तुष्टि, मानसिक स्वास्थ्य र यात्राको समयमा कमी यो कार्य सप्ताहको विशेष महत्व छ। –एजेन्सी