काठमाण्डौ । बेलायतको अर्थतन्त्र यतिबेला मन्दीबाट गुज्रिरहेको छ। यसकारणले गर्दा यो देश अहिले बस्नका लागि राम्रो छैन। बेलायती जनता बाँच्नको संकटको सामना गरिरहेका छन्। 

यसबीच बेलायतमा अहिले खाद्यान्न संकट पनि देखिएको छ। यस्तो अवस्थामा बेलायतले फलफूल र तरकारीमा कोटा प्रणाली लागू गरेको छ। यो कोटा प्रणाली बेलायतका दुई ठूला सुपरमार्केट मोरिसन र एस्डाद्वारा लागू गरिएको हो। 

कोटा प्रणालीअन्तर्गत गोलभेडा, आलु, काँक्रो, खुर्सानी, सलाद, ब्रोकाउलीजस्ता नाश हुने वस्तुको भनेजति खरिदमा प्रतिबन्ध लगाइएको छ। अब यी तरकारी प्रतिग्राहक दुई वा तीनवटा मात्र किन्न सक्छन्। 

बेलायतको तेस्रो ठूलो सुपरमार्केट एस्डाले सुरुमा तरकारी भनेजति खरिदमा प्रतिबन्ध लगाएको थियो। त्यसपछि बुधबार मोरिसनले आफ्ना ग्राहकका लागि पनि यस्तै नियम लागू गरेको छ। 

पूर्वी लन्डन, लिभरपुल र बेलायतका अन्य भागहरुमा तरकारीको तीव्र अभाव छ। एस्डामा किनमेल गर्नेहरुले गोलभेडा, खुर्सानी, काँक्रो ब्रोकाउली, काउलीलगायत तरकारी आवश्यकताअनुसार किन्न पाउने छैनन्। 

टेलिग्राफ युकेको रिपोर्ट अनुसार बुधबारदेखि मोरिसन्सले पनि ग्राहकलाई अधिकतम दुईवटा गोलभेडा, काँक्रो र खुर्सानी किन्न अनुमति दिने निर्णय गरेको छ। अन्य सुपरमार्केटले यस्तै उपायहरुमाथि विचार गरिरहेका छन्।

बेलायतमा अत्यधिक चिसोका कारण घरेलु कृषि संकटबाट गुज्रिरहेको छ। यसको असर बाली उत्पादनमा देखिएको छ। 

यसैबीच विदेशबाट बाली कम खरिद गर्दा बेलायतमा अन्न संकट बढेको छ। बेलायतले प्रत्येक वर्ष काँक्रो र गोलभेडाजस्ता जाडो बालीहरुको लगभग ९० प्रतिशत आयात गर्दछ। 

उता खराब मौसमले दक्षिणी युरोप र उत्तरी अफ्रिकामा धेरै बाली काट्न बाधा पुर्याएको छ। मोरक्को र स्पेन जाडोयाममा बेलायतको मुख्य आपूर्तिकर्ताहरु हुन्। मोरक्कोबाट फलफूलको उत्पादन मात्रा प्रभावित भएको छ किनकि उत्पादकहरु चिसो तापक्रम, भारी वर्षा र बाढीसँग लडिरहेका छन्। रातको अत्याधिक चिसोले गोलभेडा पाक्ने काममा असर गरेको छ। जसका कारण आपूर्तिमा विशेष असर परेको छ। 

मोरक्कोले कम उत्पादनलाई ध्यानमा राख्दै गोलभेडा, प्याज र आलुको निर्यातमा आंशिक प्रतिबन्ध लगाएको छ। 

उता मौसमकै कारण स्पेनबाट हुने आयातमा असर गरेको छ।

बेलायतमा फलफूल र तरकारीको अभावको समस्या अझै बढ्ने अनुमान गरिएको छ। –एजेन्सी