काठमाण्डौ । भारतको टाटा समूहले बेलायतमा ठूलो लगानी गर्ने भएको छ। 

टाटा समूहले बुधबार २३० अर्ब डलरको लगानीमा बेलायतमा ब्याट्री सेल गिगा फ्याक्ट्री स्थापना गर्ने घोषणा गरेको छ। बेलायतका प्रधानमन्त्री ऋषि सुनकले यो बेलायतमा आएको सबैभन्दा ठूलो अटो क्षेत्रमा लगानी भएको बताएका छन्। 

यससँगै टाटा समूहले भारतमा पनि १.६ अर्बडलर लगानी गरेर ब्याट्री प्लान्ट स्थापना गर्ने योजना बनाएको छ।

टाटा सन्सले बेलायतमा ग्लोबल ब्याट्री सेल गिगाफ्याक्ट्री स्थापना गर्ने आफ्नो योजना घोषणा गरेको हो। यसले बेलायतमा ठूलो मात्रामा प्रतिस्पर्धात्मक हरित टेक इकोसिस्टम सिर्जना गर्नेछ। यसका लागि ४ अर्ब पाउन्डभन्दा बढी लगानी गरिने कम्पनीले जनाएको छ। 

यो टाटा कारखानाले बेलायतमा वार्षिक ४० गिगावाट सेल उत्पादन गर्नेछ। यो विद्युतीय गतिशीलता र नवीकरणीय ऊर्जा भण्डारण समाधानहरुप्रति टाटा समूहको प्रतिबद्धताको अंश हो।

टाटा सन्सका अध्यक्ष एन चन्द्रशेखरनले टाटा समूहका धेरै कम्पनी बेलायतमा रहेको जानकारी दिए। ‘टाटा समूहले बेलायतमा युरोपको सबैभन्दा ठूलो ब्याट्री सेल उत्पादन गर्ने प्लान्ट स्थापना गर्न लागेको छ’, उनले भने, ‘टाटा समूहको अर्बौं पाउन्ड लगानीले बेलायतमा अत्याधुनिक प्रविधि ल्याउनेछ। यसले अटोमोटिभ क्षेत्रलाई विद्युतीय गतिशीलतामा लैजान मद्दत गर्नेछ।’

यस रणनीतिक लगानीबाट टाटा समूहले बेलायतप्रतिको आफ्नो प्रतिबद्धतालाई थप सुदृढ गर्न लागेको चन्द्रशेखरनले बताए। ‘हाम्रा धेरै कम्पनी त्यहाँ टेक्नोलोजी, उपभोक्ता, आतिथ्य, स्टिल, रसायन र अटोमोटिभ क्षेत्रमा काम गरिरहेका छन्’, उनले भने।

बेलायतका प्रधानमन्त्री ऋषि सुनकले टाटाको गिगाफ्याक्ट्री बेलायतको अटो क्षेत्रमा हालसम्मको सबैभन्दा ठूलो लगानी भएको बताए। ‘टाटा समूहले बेलायतमा आफ्नो ब्याट्री सेल गिगाफ्याक्ट्री स्थापना गर्ने निर्णयले उनीहरुलाई भारतबाहिर बेलायतमा रहेको ठूलो विश्वास देखाउँछ’, सुनकले भने, ‘यसले बेलायतमा हजारौँ दक्ष रोजगारीमात्र सिजना गर्दैन, यसले विद्युतीय सवारीसाधनमा विश्वव्यापी रुपान्तरणमा हाम्रो नेतृत्वलाई पनि बलियो बनाउनेछ। यसले भविष्यमा हाम्रो अर्थतन्त्रलाई सफा उद्योगहरुमा बढाउन मद्दत गर्नेछ।’ –एजेन्सी