काठमाण्डौ । गुरुप्रसाद बाजे अर्थात् गुरुप्रसाद न्यौपाने । सुदूर पूर्वी पहाडी जिल्ला संखुवासभा, धनकुटा, तेह्रथुमका जनताहरुले बोलाउने प्यारो नाम । उनै न्यौपाने जो नेपालको हाइड्रोपावर क्षेत्रमा परिचित नाम हो । विभिन्न हाइड्रोपावरका अध्यक्ष, संचालक अनि नेपाल उद्योग परिसंघको राष्ट्रिय परिषद सदस्य पनि हुन् गुरुप्रसाद न्यौपाने । न्यौपाने बन्धु समाजमा सहअध्यक्ष समेत रहेका उनका ७ वटा हाइड्रोपावर नेपाल विद्युत प्राधिकरणको ग्रिडमा जोडिएका छन् ।
न्यौपानेको जन्मघर भने भोजपुर जिल्लाको बोखिम गाउँ हो भने हाल काठमाण्डौ ३३ नयाँबानेश्वरका बासिन्दा हुन् । रिडी हाइड्रोपावरका अध्यक्ष, रैराङ हाइड्रोपावरका कार्यकारी अध्यक्ष, अपि हाइड्रोपावरका संचालक, पिपुल इन्भेस्टमेन्ट कम्पनीका संचालक र पञ्चकन्या हाउजिङका संचालक रहेका न्यौपाने निक्कै सक्रियताका साथ काममा खटिन्छन्।
मध्यम आर्थिक परिवारमा जन्मेका उनका पिता किसान थिए । परिवारका सात छोरामध्ये छैठौं छोरा(जन्तरे) न्यौपानेले भोजपुर विद्योदय हाइस्कूलबाट नै एसएलसी दिए । उच्च शिक्षाका लागि मोरङ झरेका उनले महेन्द्र मोरङ क्याम्पसबाट २०२४ सालमा आइकम अध्ययन गरे । २०२८ सालमा नेपाल राष्ट्र बैंकमा सहायक तहबाट बैंकिङ्ग करिअर सुरु गरे । उनी ड्यूटीका लागि भैरहवा खटिए । त्यतिबेला उनको तलब २२० रुपैयाँ मात्रै थियो। ‘३५० मा १ तोला सुन आउँथ्यो ।’न्यौपानेले विगत सम्झदै भने–‘३० रुपैयाँमा मासिक खाना खाइन्थ्यो भने खसीको मासु ६ रुपैयाँ किलो पाउथ्यो।’
वि.सं. २०२९ सालमा न्यौपाने काठमाण्डौ सरुवा भए । २०२९ साल माघमा केन्द्रीय कार्यालयमा प्रशासन फाटमा उनले काम पाए। एकवर्षपछि प्रधान सहायक पदमा लोकसेवाले लिएको परीक्षामा उत्तीर्ण गरे । प्रधान सहायक भएर थापाथली शाखामा खटिएका उनले मासिक तलब ५७० र घरभाडा १३० गरी जम्मा ७०० रुपैयाँ बुझ्थे। थापाथलीमा बिहान बेलुकी काम गरेर दिउँसोको समयमा उनी कीर्तिपुर डिग्री पढ्न जान्थे ।
मेजर इकोनोमिक्स लिएर पढेका उनले दोस्रो वर्ष राष्ट्रिय विकास सेवाका लागि लमजुङ गए । यता राष्ट्रबैंकमा भने बेतलबी बिदा लिएर गाउँको सेवा गर्न खटिए।
अध्ययन र जागिर सँगसँगै चलाइरहेका न्यौपानेले २०३४ सालमा लोकसेवाले लिएको बैंक अधिकृत पदमा नाम निकाल्न सफल भए । अब भने बल्ल तलब १ हजार रुपैयाँ पुग्यो । ८ वर्षपछि २०४२ सालमा उनी राष्ट्र बैंकमा सेकेन्ड क्लास अफिसर भए । २०४७ सालमा बल्ल फस्ट क्लास अफिसर बन्न पुगेका न्यौपानेले सहायक तहबाट फस्ट क्लास अफिसरसम्म परीक्षा दिएरै पास हुने आफू पहिलो व्यक्ति भएको दाबी गरे ।
न्यौपाने २०४८ सालमा वीरगन्ज शाखा प्रबन्धक भएर जागीरे सिलसिलामा पुगे । अब भने बल्ल मासिक तलब बढेर ३ हजार रुपैयाँ कमाउन थाले । २०५१/५२ ताका उनी राष्ट्रिय वाणिज्य बैंकमा अध्यक्ष र महाप्रबन्धक भएर पदभार ग्रहण गरे, तर उनको त्यो नियुक्ति भने राजनीतिक नियुक्ति थियो। १५ महिनापछि उनी पुनः राष्ट्र बैंक नै फर्किए ।
राष्ट्र बैंकमा २८ वर्ष काम गरेपछि न्यौपानेले स्वेच्छिक अवकाश लिने निर्णयमा पुगे ।२०५४ सालमा राष्ट्र बैंकबाट रिटायर्ड उनले हाल मासिक पेन्सन पनि पाइरहेको बताउँछन् ।
नेपाल राष्ट्र बैंकमा जागिर खाने सिलसिलामा उनले थाइल्यान्डमा गई डिग्री अध्ययन गर्ने मौका पनि पाए । अहिले पनि त्यो स्वर्णिम मौका दिलाउने राष्ट्र बैंकप्रति उनी कृतज्ञता प्रकट गर्छन् । त्रिभुवन विश्वविद्यालयमा मौद्रिक अर्थशास्त्र पढेका उनले त्यहीँबाट नवीकरणीय ऊर्जाबारे पढ्ने अवसर पाएका थिए । त्यही शिक्षा र ज्ञानका कारण न्यौपानेले जागिर छाडेपछि हाइड्रोपावरमा लगानी गर्ने चेत पाएका रहेछन् ।
न्यौपानेले थाइल्यान्डको थमासाट युनिभर्सिटीबाट फाइनान्सियल इकोनोमिक्समा डिग्री गरेका छन् ।
थामशाट युनिभर्सिटीमा डिग्री अध्ययन गर्दा हाइड्रो पनि नवीकरणीय ऊर्जा हो भनी बुझ्ने मौका पाएका न्यौपानेलाई पानी पनि पुनः प्रयोग गर्न सकिने र इनर्जीमा कन्भर्ट गरेर पैसा कमाउन सकिन्छ भन्ने लाग्यो । सोही ज्ञानकै भरमा विगत २२ वर्षदेखि हाइड्रोपावर सेक्टरलाई आफ्नो कर्मथलो बनाईरहेका छन् । यसैले त उनलाई केहीले ‘हाइड्रो बाजे’ पनि भन्दारहेछ्न। छिटोभन्दा छिटो हाइड्रोपावर परियोजना बनाएर सकाउने फाइदा लिन उनी कस्सिएरै लाग्छन् । आम सर्वसाधारणले समेत गुरुले छोएको हाइड्रो सकाएरै छोड्छन भन्ने मानसिकता बनाउने गर्छन् ।
श्रीमतीको १५ तोला सुन धितो, २० लाख सापटी लिएर हाइड्रोपावर सेक्टरमा हात हाल्न पुगेका उनका सुरुका दिन निकै कठिन थिए । हाइड्रोपावरलाई त्यतिबेला कुनै सेक्टर नबनेको बेलामा न्यौपाने नै थालनीकर्ता थिए ।
वि.सं. २०५४ सालमा न्यौपानेले अरुण भ्याली हाइड्रोपावर बनाउन सुरु गरे । पिलुवा खोला हाइड्रोपावर ३ मेगावाटमा ५ जना मिलेर सुरुवात गरेका थिए।
नेपालको हाल अन्तर्राष्ट्रिय क्रेडिट रेटिङ नहुनु, करेन्सी हेजिङको अभावलाई हाइड्रोपावर सेक्टरको विकासमा मुख्य चुनौती रहेको उल्लेख गर्दै न्यौपाने भन्छन्–‘मिलिनियम कोअपरेसनको ट्रान्समिसन लाइन भएन भने आगामी दिनमा हाइड्रो बर्बाद हुनेछ।’
सरकारले प्राइभेट सेक्टरलाई हाइड्रोपावर क्षेत्रमा लगानी प्रोत्साहन नगरिरहेकोमा रुष्ट बनेका न्यौपाने क्रेडिट रेटिङ नभएकै कारण ठूला प्रोजेक्ट अघि बढ्न नसकेको बताउँछन् ।‘गत फागुन यता पीपीए पनि भएको छैन।’न्यौपानेले भने–‘सरकार सहजकर्ताको भूमिकामा देखिन जरुरी छ।’
आगामी दिनमा बिजुली खेर जाने दाबी गर्दै न्यौपाने इनर्जी बैंकिङमा सरकारले ध्यान दिनुपर्नेमा जोड दिन्छन् ।
हाइड्रोपावरमा निकै नाम र दाम कमाएका उनलाई हामीले हाइड्रोले चाहिँ गुरुलाई के दियो ? भन्ने जिज्ञासामा आनन्द र सन्तुष्टि मिलेको जवाफ दिन्छन् । गाउँहरु झलमल्ल हुनु र आफूले उत्पादन गरेको बिजुलीले उद्योगधन्दा चलेकोमा न्यौपाने दङ्ग देखिए ।
हाइड्रोपावरलाई न्यू बिजनेस कन्सेप्टको सूत्रपात गरेका न्यौपाने हाइड्रोपावर पनि एउटा लगानीको सेक्टर बनेको सुनाउँछ्न। ‘पहिले बैंकहरु ॠण दिन मान्दैन थिए अहिले हाइड्रोमा बैंकले ५ प्रतिशत लगानी अनिवार्य भयो।’न्यौपाने खुशी हुँदै भन्छन्–‘आइ एम रिटायर्ड बट आइ एम नट टायर्ड । म त वर्कोहलिक (काम गर्ने आदत भएको) मान्छे हुँ नि बाबु।’–उनले थपे।
प्राकृतिक स्रोतको दोहन गर्दा पानीबाट बिजुली निकालिए विकास हुने क्षेत्र हाइड्रोपावर पनि भएको न्यौपानेको जिकिर छ। ‘विज्ञापन गर्नुपर्दैन ।’उनले भने–‘एउटा मात्रै प्रोजेक्ट हो हाइड्रो जुन अगाडि नै बिक्री भइसकेको हुन्छ।’ कच्चा पदार्थ पनि नचाहिने र उद्योगधन्दाको विकासका लागि अपरिहार्य हाइड्रोपावर नै भएको उनको भनाइ छ।
न्यौपानेले प्रत्यक्ष रुपमा ५०० जनालाई रोजगारी दिइरहेको दाबी गरे, जसमध्ये कामदार मात्रै ४०० र बाँकी १०० कर्मचारी छन् । धेरैलाई रोजगारी दिंदा निकै सन्तुष्टि मिलिरहेको र प्रोजेक्ट स्थलमा नै लठ्ठी टेक्दै गएर उनीहरुले समान खाना, समान आवास सुविधा पाएकोमा निकै गौरवान्वित महसुस हुने गरेको उनको भनाइ छ।
६७ वर्षीय न्यौपाने शनिबारको दिनमा समेत खटिने बताउँछन् । नयाँ व्यक्तिहरुलाई हाइड्रोपावर सेक्टरका विषयमा निशुल्क जानकारी चाहिए सधै स्वागत गर्ने न्यौपाने सुनाउँछन् ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago