काठमाण्डौ । नेपाल राष्ट्रबैंकले बैंक तथा वित्तीय संस्थाका संचालक र प्रमुख कार्यकारी अधिकृतका लागि उमेरको हद लागू गरेको छ । 

राष्ट्रबैंकले सोमबार एकीकृत निर्देशनमार्फत यस्तो व्यवस्था गरेको हो ।

जसअनुसार अब ६५ वर्ष नाघेको व्यक्ति बैंक तथा वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत हुन पाउनेछैन । बैंक तथा वित्तीय संस्थामा कार्यकारी प्रमुखको पदमा कायम रहने उमेरको हद ६९ वर्ष कायम गरिएको छ । यसको अर्थ ६९ वर्ष उमेर पुगेका प्रमुख कार्यकारी अधिकृतले स्वतः विदा लिनुपर्नेछ । 

केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाको संचालक हुनलाई समेत उमेरको हद तोकेको छ । जसअनुसार अब ७० वर्ष नाघेको व्यक्ति संचालक पदमा नियुक्त हुन पाउनेछैन। ७४ वर्ष उमेर पुगेपछि संचालकले पद त्याग गर्नुपर्नेछ। 

राष्ट्रबैंकको उमेर हद सम्बन्धी व्यवस्थाले प्राइम बैंकका प्रमुख कार्यकारी अधिकृत नारायणदास मानन्धर र एभरेष्ट बैंकका अध्यक्ष बिके श्रेष्ठको पद जानसक्ने देखिएको छ ।