वीरगन्ज । वीरगन्ज उपमहानगरपालिका– १० लिङ्करोडस्थित कृषि विकास बैंकबाट करिब रु ४० लाख मूल्य बराबरको सुनचाँदी चोरी भएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार आइतबार मध्यरात बैंकको दक्षिणतर्फ रहेको फलामको ग्रिल निकाली दराज खोलेर रु ३९ लाख २३ हजार ६७९ मूल्य बराबरका ७२ दशमलव ६ तोला सुन र रु २१ हजार ८१३ मूल्य बराबरको २७ दशमलव ४४ तोला चाँदी चोरी भएको छ ।

अनुसन्धानका क्रममा प्रहरीले सो बैंकका सुरक्षागार्ड बृजकिशोर चौहान, उमेशप्रसाद र फुनेरा राजकुर्मीलाई नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले बताए ।

सो दराजको तीनवटा साँचोमध्ये एउटा साँचो बैंक प्रबन्धक, अर्को लेखापालसँग थियो भने एउटा साँचो क्षेत्रीय कार्यालयमा पठाउनुपर्नेमा त्यहाँ नपठाई प्रबन्धकले आफ्नै कोठामा रहेको दराजमा राखेको थियो । चोरले पहिले दराजमा राखेको साँचो झिकेर सुनचाँदी राखिएको दराज खोली चोरिएको हुनसक्ने प्रारम्भिक अनुसन्धाबाट खुल्न आएको प्रहरीले जनाएको छ ।