– रेखा चन्द

काठमाण्डौ । मुलुकको अर्थतन्त्र सुधारोन्मुख रहे पनि पूर्ण रुपमा चलायमान भइसकेको छैन। जसका कारण सबै क्षेत्र मारमा परेका छन्। 

उद्योग–व्यवसाय, घरजग्गा, सेयर बजारलगायतका क्षेत्र चौपट भएका छन्। तरलताको अभावले बैंकको ब्याजदर उच्च बिन्दुमा पुग्दा झनै समस्या निम्तियो। योसँगै बैंकबाट कर्जा लिएका ऋणीहरु मारमा परेका छन्।

पछिल्लोपटक बैंकहरुको ब्याजदर केही घटेको छ। तर, ब्याजदर अझै उच्च रहेको उद्योगी–व्यवसायीहरुले विरोध गर्दै आएका छन्। 

उच्च ब्याजदरका कारण कर्जा माग गर्नेको संख्यामा ह्रास आएको छ। ठूला प्रकृतिका कर्जाको माग नभएको बैंकहरु नै बताउँछन्। 

कर्जा प्रवाह नहुँदा अहिले प्रणालीमा तरलता (लगानीयोग्य रकम) थुप्रिएको छ। अर्थात् बैंकहरुसँग अहिले २ खर्ब बढी ऋण दिनसक्ने क्षमता छ। तर, ठूला प्रकृतिका कर्जाको माग भने छैन। 

केही समयअघि तरलता संकट हुँदा बैंकहरुले साना प्रकृतिका कर्जाहरुसमेत रोकेका थिए। तर, पछिल्लो समय बैंकहरुले साना प्रकृतिका कर्जाहरु भने प्रवाह गरिरहेका छन्।

राष्ट्र बैंकका अधिकारी तथा बैंकरहरु हाल बैंकिङ क्षेत्रको तरलता कम्फर्टेबल जोनमा रहेको बताउँछन्। तर, ब्याजदर महँगो भएकाले भने कर्जाको मागहरु बढ्न सकिरहेको छैन। 

यसो त फागुनका लागि वाणिज्य बैंकहरुले ब्याजदरलाई स्थिर राख्दा विकास बैंक र फाइनान्स कम्पनीहरुले घटाएका छन्। 

कहिलेदेखि घट्ला बैंकको ब्याजदर ?

बैंक तथा वित्तीय संस्थाहरुको ब्याजदर विस्तारै घट्दै जाने बैंकरहरुको भनाइ छ।

सानिमा बैंकका सीईओ निश्चलराज पाण्डे पनि विस्तारै बैंकहरुको ब्याजदर घट्दै जाने बताउँछन्। ‘बैंकको ब्याजदर क्रमशः घट्दै जान्छ’, उनले भने, ‘वैशाखबाट केही हुन्छ होला।’

सीईओ पाण्डेले बैंकहरुले अहिले सानोतिनो प्रकारका कर्जा भने प्रवाह गरिरहेको बताए। ‘व्यापार–व्यवसायलगायतका क्षेत्रहरु स्लोडाउन भएका बेला कर्जाको माग बढ्ने कुरा भएन’, उनले भने ‘नर्मल्ली कर्जाको ब्याजदर १०–११ प्रतिशत हुँदा कर्जाको माग अलि होला तर अहिलेको केही हाई नै छ।’

अहिलेको अवस्थामा भने पनि स–साना कर्जा नरोकिएको पाण्डेको भनाइ छ।

शाइन रेसुङगा डेभलपमेन्ट बैंकका सञ्चालक बीरेन्द्रबहादुर बिष्ट आगामी महिनादेखि बैंकहरुको ब्याजदर घट्नसक्ने बताउँछन्। ‘अर्को महिनाबाट डिपोटिको ब्याजदर घट्न सक्छ, नयाँ कर्जा अहिलेदेखि केही सस्तो नै पाइन्छ’, उनले भने, ‘अर्को महिनाबाट नयाँ कर्जा १२–१३ प्रतिशतमा आउँछ सक्छ, पुरानोको भने वैशाखयता घट्दैन।’

अहिले कर्जा प्रवाह गर्ने रकम बैंकमा रहेको बिष्टले बताए। ‘अहिले स–साना कर्जाहरु बैंकहरुले ग्राहकलाई बोलाएर दिन थालिसकेको अवस्था छ’, उनले भने।

अगामी महिनादेखि ब्याजदर नघटे बैंकहरु स्वयंलाई असहज परिस्थति सिर्जना हुने बिष्टको भनाइ छ। ‘निक्षेपकर्ताबाट निक्षेप उठाएर कर्जा नदिएको खण्डमा बैंकलाई ‘लस’ हुन्छ’, उनले भने, ‘कि ब्याज घट्नुपर्छ कि कर्जा प्रवाह हुनुपर्यो।’