काठमाण्डौ । प्रणालीमा पर्याप्त तरलता भएकै अवस्थामा केन्द्रीय बैंकले कतिपय पोलिसी रेटहरु समेत घटाएपछि बैंकहरुबीच ब्याजदर घटाउने प्रतिस्पर्धा नै चलेको छ । यो क्रममा राष्ट्रिय स्तरको विकास बैंक, महालक्ष्मी विकास बैंकले पुरानो ब्याजदरमा करिब १४ प्रतिशतसम्मको कटौति गरेको छ । 

मंसिर १ गतेदेखि लागू मुद्दति निक्षेपको ब्याजदरमा यो बैंकले १३.९७ प्रतिशतसम्मको कटौति गरेको हो । 

यसअघि व्यक्तिगत मुद्दतितर्फ ३ महिनादेखि १ वर्ष अवधिसम्मको ब्याजदर ९.३० प्रतिशत, १ वर्षभन्दा बढी अवधिको स्किमको ब्याजदर ९.४० प्रतिशत तोकिएको थियो ।

आज प्रकाशित सूचनाअनुसार अब कम्पनीले ३ महिनादेखि ६ महिनासम्मको अवधिको व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर घटाएर ८ प्रतिशतमा सीमित गरिदिएको छ । ६ महिनादेखि १ वर्ष अवधिका लागि ब्याजदर घटाएर ८.५० प्रतिशत, एक वर्षदेखि २ वर्ष अवधिका लागि ९ प्रतिशत र २ वर्षभन्दा माथि अवधिका लागि ९.३० प्रतिशत ब्याजदर तोकिएको छ । 

एकवर्षदेखि २ वर्ष अवधिको रेमिटान्स फिक्स डिपोजिटको ब्याजदर १० प्रतिशत र २ वर्षभन्दा माथि अवधिका लागि १०.३० प्रतिशत ब्याजदर तोकिएको छ । 

कम्पनीले संस्थागत मुद्दतितर्फ ६ महिनादेखि १ वर्ष अवधिका लागि ६.५० प्रतिशत, एकदेखि २ वर्ष अवधिका लागि ७ र २ वर्षभन्दा माथि अवधिका लागि ७.३० प्रतिशत तोकिएको छ । 

कल डिपोजिटको ब्याजदर २.१५ प्रतिशत तोकिएको छ भने बचत खाताको ब्याजदर अधिकतम ६.३० प्रतिशतसम्म तोकिएको छ ।