काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाहरुमा चालु आर्थिक वर्षको ११ महिनामा निक्षेप ८.८ प्रतिशतले बढेको छ। 

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको ११ महिनाको तथ्यांकले यस्तो देखाएको हो। समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुमा रहेको निक्षेप रु.४ खर्ब ४५ अर्ब १३ करोड (८.८ प्रतिशत)ले बढेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप रु.२ खर्ब ६६ अर्ब (५.७ प्रतिशत)ले बढेको थियो। वार्षिक विन्दुगत आधारमा २०८० जेठ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुमा रहेको निक्षेप १२.२ प्रतिशतले बढेको छ।

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा चल्ती, बचत र मुद्दति निक्षेपको अंश क्रमशः ७.९ प्रतिशत, २५.६ प्रतिशत र ५९.८ प्रतिशत रहेको छ। अघिल्लो वर्ष यस्तो अंश क्रमशः ८.८ प्रतिशत, २७.१ प्रतिशत र ५७.१ प्रतिशत रहेको थियो।

२०८० जेठ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३६.७ प्रतिशत रहेको छ। २०७९ जेठ मसान्तमा यस्तो निक्षेपको अंश ३८.६ प्रतिशत रहेको थियो। 

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा रु.१ खर्ब ५७ अर्ब ३६ करोड (३.४ प्रतिशत) ले बढेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा रु.५ खर्ब ५२ अर्ब ७१ करोड (१३.५ प्रतिशत) ले बढेको थियो। वार्षिक विन्दुगत आधारमा २०८० जेठ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्पm प्रवाहित कर्जा ३.० प्रतिशतले बढेको छ।

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये कृषि क्षेत्रतर्फ प्रवाह भएको कर्जा ६.६ प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ८.४ प्रतिशतले, निर्माण क्षेत्रतर्फको कर्जा ७.६ प्रतिशतले, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा १६.७ प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा ४.० प्रतिशतले, सेवा उद्योग क्षेत्रतर्फको कर्जा ३.३ प्रतिशतले र उपभोग्य क्षेत्रतर्फको कर्जा ६.७ प्रतिशतले बढेको छ।