– रेखा चन्द
काठमाण्डौ । केही समययता बैंक तथा वित्तीय संस्थाहरुले कर्जाको साँवा र ब्याज तिर्न नसकेका ऋणीहरुबाट लिएको धितो धमाधम लिलामीमा राखिरहेका छन्।
सुरुआतमा कर्जा भुक्तानीका लागि ७ दिने, १५ दिने तथा ३५ दिने सूचना जारी गरेका बैंक तथा वित्तीय संस्थाहरुले पछिल्लोपटक कर्जा भुक्तानीका लागि आह्वान गरेको समयसीमाभित्र ऋणीहरुले कर्जाको साँवा र ब्याज नतिर्दा प्रक्रियाअनुसार उनीहरुको धितोलाई लिलामीमार्फत धमाधम बिक्रीमा राखेका हुन्। तर, बैंक तथा वित्तीय संस्थाहरुलाई लिलामीमा राखेका धितोसमेत बिक्री गर्न सकस परेको छ।
ऋणीहरुले कर्जाको साँवा तथा ब्याज तिर्न नसकेपछि बैंक तथा वित्तीयहरुले उनीहरुको धितोबापतको सम्पत्ति लिलामीमा राखे पनि बिक्री गर्न सकिरहेका छैनन्। आर्थिक गतिविधि बढ्न नसक्दा, बैंकिङ प्रणालीमा तरलताको सहज अवस्था नहुँदा, घर–जग्गाको कारोबार बढ्न नसक्दा यस्तो समस्या देखिएको हो।
बैंक तथा वित्तीय संस्थाहरुले ऋण तिर्न नसकेका ऋणीहरुबाट घर, जग्गा, गाडी, कार, मोटरसाइकललगायत विभिन्न खालका चल–अचल सम्पत्ति लिलामीमा ल्याइरहेका छन्। केही न केही धितो राखेर बैंकहरुले ग्राहकलाई कर्जा प्रवाह गर्दछन्। यदि ऋणीले कुनै कारणले कर्जा नतिरेमा कर्जा प्रवाह हुँदा राखिएको धितोलाई बिक्री गरेर बैंकहरुले कर्जा चुक्ता गर्ने गर्दछन्।
चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा समेत बैंक तथा वित्तीय संस्थाहरुको वित्तीय विवरण खासै राम्रो आउन सकेन। पहिलो त्रैमासको तुलनामा दोस्रो त्रैमासमा अधिकांश बैंकहरुको खराब कर्जा बढेको छ। त्यसकारण पनि अहिले बैंकहरु ऋणीको धितोलाई लिलामीमा बिक्री गरेर कर्जा असुलीमा लागेका हुन्। बैंकहरुका अन्य वित्तीय सूचक पनि सुस्त नै छन्।
उता बैंकबाट लिएको कर्जा नतिर्दा ऋणी तथा फर्महरु धमाधम कालोसूचीमा पर्न थालेका छन्। कर्जा सूचना केन्द्रका अनुसार सोमबारसम्म कर्जा भुक्तानी नगरेका १४ हजार ३९ व्यक्ति तथा संस्था कालोसूचीमा परिसकेका छन्।
अहिले कर्जा लिएका ऋणीहरुसँगै सम्रग बैंक तथा वित्तीय संस्थाहरु नै समस्यामा छन्। एकातिर प्रणालीमा अधिक तरलता रहेका बेला घर–जग्गालगायतका क्षेत्रमा अत्याधिक कर्जा लगानी गरेका बैंकहरुलाई अहिले त्यही कर्जा असुलीमा निकै सकस परेको हो। घर–जग्गा, सेयर बजारलगायतको भाउ उच्च रहेका बेला कर्जा लगानी गरेका बैंक तथा वित्तीय संस्थालाई अहिले थप दबाब परेको छ।
पछिल्लो समय घर–जग्गाको कारोबार र सेयर बजार घटेको अवस्था छ तथा सोही भाउमा पनि लिलामीमा आएका घर–जग्गा बिक्री हुने अवस्था छैन। लिलामीमा राखेको धितो बिक्री हुने अवस्था नरहेको बैंकरहरुले बताउँदै आएका छन्।
नबिल बैंकका डेपुटी सीईओ मनोज ज्ञवाली लिलामीमा राखेको धितो बिक्री हुने अवस्था एकदमै न्यून रहेको बताउँछन्। ‘धितो बिक्रीबाट एकदमै न्यून मात्रामा कर्जा असुली भइरहेको अवस्था छ’, उनले भने, ‘एकातर्फ मानिसहरुसँग पैसा छैन, अर्को यस्ता चीजहरुमा बैंकहरुले पनि फाइनान्सिङ गरेको अवस्था छैन।’
घर–जग्गाको कारोबार ठप्पप्रायः रहेको डेपुटी सीईओ ज्ञवालीको भनाइ छ।
कृषि विकास बैंकका कामु सीईओ प्रताप सुवेदी लिलामीमा राखेको धितो बिक्रीबाट ऋण असुली गर्ने प्रक्रियालाई दुई तरिकाले हेर्नुपर्ने बताउँछन्। ‘एउटा बैंकहरुलाई अटोमेसनमा लानुपर्छ, ब्याज नतिरे पनि हुन्छ, लिलामी नगरे पनि हुन्छ अथवा बैंकले कारवाही गर्दैन भन्ने हो भने भोलि यस्तो समस्याले बैंकको सिस्टमलाई नै हान्छ’, उनले भने, ‘त्यसकारण यसलाई सिस्टममा लानुपर्छ, एम्पेरिमेन्न चार्जहरुलाई पनि कन्ट्रोल गर्नुपर्छ।’
ऋणीले कर्जा समयमै लागेर समयमै तिर्नुपर्ने गरी अटोमेसनमा जानुपर्ने सुवेदीको भनाइ छ। ‘बैंकहरुले पनि छिटोछरिता, सरल र सस्तो हिसाबले प्रोडक्ट ल्याउनुपर्छ’, उनले भने, ‘ऋणीले कर्जा लगेर तिरे पनि हुन्छ, नतिरे पनि हुन्छ भन्ने हो भने अहिलेको जस्तो अवस्था हुन्छ।’
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19