काठमाण्डौ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुले आफ्ना कर्मचारीलाई कार्यक्षेत्रसँग सम्बन्धित तालिम दिनुपर्ने व्यवस्था गरेको छ। 

मौद्रिक नीतिमा गरिएका व्यवस्थाहरु कार्यान्वयनका लागि राष्ट्र बैंकले आज जारी गरेको बैंक तथा वित्तीय संस्थाहरुका लागि एकीकृत निर्देशनमा यस्तो व्यवस्था गरेको हो। 

नयाँ व्यवस्थाअनुसार अब बैंक तथा वित्तीय संस्थाले कर्मचारीलाई कार्यक्षेत्रसँग सम्बन्धित तालिम प्रत्येक २ वर्षमा कम्तीमा एकपटक र ट्रेड फाइनान्स तथा कर्जासम्बन्धी कार्य गर्ने कर्मचारीलाई विशिष्टीकृत तालिम प्रत्येक वर्ष प्रदान गर्नुपर्नेछ। 

यसैगरी बैंक तथा वित्तीय संस्थाले बैंकिङ क्षेत्रमा दक्ष जनशक्तिको विकास गर्नका लागि नयाँ भर्ना भएका कर्मचारीलाई बैंक प्रवेश गरेको १ महिनाभित्र कम्तीमा २ हप्ताको अभिमुखीकरण तालिम प्रदान गर्नुपर्ने व्यवस्था पनि राष्ट्र बैंकले गरेको छ। 

कर्मचारीलाई प्रदान गरिएको तालिमको शीर्षक, मिति, अवधि, तालिम प्राप्त गर्ने कर्मचारीको नामावलीलगायतका विवरण बैंक तथा संस्थाले आफ्नो वेबसाइटमा अर्धवार्षिक रुपमा अद्यावधिक गर्नुपर्ने राष्ट्र बैंकको निर्देशनमा उल्लेख छ।