काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाहरुले बचत खातामा दिइने ब्याजदरको अन्तर २ प्रतिशत विन्दुभन्दा बढी फरक पार्न नपाउने भएका छन्। 

नेपाल राष्ट्र बैंकले बचत खातामा दिइने ब्याजदरमा यस्तो व्यवस्था लागू गरेको हो। यसबारे केन्द्रीय बैंकले वित्तीय चेतनाका लागि एक सूचना जारी गर्दै जानकारी गराएको छ। 

नयाँ बचत खाताको विकास गर्दा पुराना खाताको ब्याजदर अत्यन्तै कम भयो भन्ने आमगुनासोलाई सम्बोधन गर्न राष्ट्र बैंकले विभिन्न प्रकारका बचत खातामा दिइने ब्याजदरको अन्तर २ प्रतिशत विन्दुभन्दा बढीले फरक पार्न नपाइने व्यवस्था गरेको हो। ब्याजदर परिवर्तन गर्दा वा नयाँ बचत खाताको विकास गर्दा सबै प्रकारका बचत खाताको ब्याजदर सोहीबमोजिम समायोजन (बढ्दा सबैको बढ्ने र घट्दा सबैको घट्ने) गर्नुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ। 

बचत खाताको ब्याजदर तथा सम्पूर्ण सर्त र सुविधाप्रति चनाखो भई पूर्ण जानकारी लिन सर्वसाधारणलाई केन्द्रीय बैंकले सचेत गराएको छ। 

बैंक तथा वित्तीय संस्थाले विविध प्रकारका बचत खाताका विकल्प प्रदान गर्ने गर्दछन्। यी सबै खाताका विशेषता जस्तै–ब्याजदर, नयूनतम मौज्दात, कार्ड, चेक, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङजस्ता सुविधा र सर्त फरक–फरक हुन्छन्।