काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ। 

तरलता फालाफाल हुँदा पनि कर्जा प्रवाह गति लिन नसक्दा बैंकिङ सेक्टर सकसमा परेको देखिन्छ। यस्तो अवस्थामा आजको मौद्रिक नीति बैंकिङ सेक्टरका लागि भने सन्तुलित आएको देखिन्छ। मौद्रिक नीतिमा समेटिएका केही बुँदाले कर्जा परिचालन बढ्नुका साथै बजारलाई चलायमान बनाउन सहयोग पुग्ने अपेक्षा गर्न सकिन्छ। 

महालक्ष्मी विकास बैंकका अध्यक्ष राजेश उपाध्यायले बैंकिङ सेक्टरका लागि मौद्रिक नीति सन्तुलित आएको बताउँछन्। ‘२–३ वटा कुरा राम्रा आएका छन्’, उनले भने। 

साना ऋणलाई राहात हुने गरी मौद्रिक नीति आएको उपाध्यायको भनाइ छ। ‘सेयर, घर–जग्गा र गाडी ३ वटैमा सहज ढंगले साना ऋणीहरुले कर्जा पाउने गरी राष्ट्र बैंक नीति ल्याएको छ’, बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफि)का उपाध्यक्षसमेत रहेका उपाध्यायले भने, ‘यसले बजारलाई चलायमान बनाउँछ।’

राष्ट्र बैंकले ५० लाख रुपैयाँको त्यस्ता कर्जामा १०० जोखिम भार कायम गरेको छ। यसअघि २५ लाखसम्मको त्यस्ता कर्जामा १०० जोखिम भार कायम गरिएको थियो। ‘कर्जाको ब्याजदर पनि घटिरहेको अवस्थामा यो नीतिले साना ऋणीलाई राहत हुनेछ’, उनले भने।

अर्को भनेको मौद्रिक नीतिमार्फत ठूला ऋणीहरुलाई सुपरिवेक्षण गर्ने नीति राष्ट्र बैंकले लिएको उल्लेख गर्दै उपाध्यायले यो राम्रो पक्ष रहेको बताए। ‘नेपालमा केही सीमित ठाउँमा धेरै ऋण गइरहेको भन्ने कुरा आइरहेको छ, यो वास्तविकता नै हो’, उनले भने, ‘यो नीतिले त्यस्ता कर्जा प्रवाहमा कडाइ हुनेछ।’

यो ३ वटा कन्ज्युमर सेक्टर (सेयर, घर–जग्गा र गाडी) चलाउँदा बजार पनि चलायमान हुने उपाध्ययको भनाइ छ। घर–जग्गा चल्नेबित्तिक सिमेन्ट, डन्डीलगायत निर्माण व्यवसायको पूरै चेनमा नै पोजिटिभ इम्प्याक्ट ल्याउने उपाध्यायले बताए। 

यी ३ क्षेत्र चल्नेबित्तिक बजारमा पैसा आउने उपाध्यायले बताए। ‘राष्ट्र बैंकको नीतिले स–साना ऋण बजारमा आउन सजिलो हुनेछ’, उनले भने, ‘बैंकहरुले पनि फिल्डमै गएर स–साना ऋणीहरुलाई कर्जा गर्नुपर्छ भन्ने मलाई लाग्छ।’

सानो कर्जामा जोखिम भार घट्नेबित्तिकै बैंकहरुलाई कर्जा प्रवाहमा सहजता हुने उपाध्यायले बताए। 

उपाध्यायले राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत सन्तुलित नीति अवलम्बन गरेको बताए। ‘धेरै माग सम्बोधन भएको छैन तर राष्ट्र बैंकले बजार चलायमान बनाउने नीति ल्याएको छ, यसलाई सकारात्मक रुपमा लिनुपर्छ’, उनले भने, ‘अहिले बजार चलायमान नहुनुमा ब्याजको मात्रै कारण थिएन, जोखिम भारका कारण पनि थियो। जसकारण निश्चित क्षेत्रमा कर्जा जान गाह्रो भइरहेको थियो। मौद्रिक नीतिले त्यसलाई सहज बनाइदिएको छ।’