काठमाण्डौ । सरकारको खर्च वृद्धिसँगै बैंकिङ प्रणालीमा अधिक तरलता भएको छ । अधिक तरलताका कारण अन्तर बैंक ब्याजदर ३ प्रतिशत भन्दा तल झरेपछि नेपाल राष्ट्रबैंकले मंगलबार १० अर्ब रुपैयाँ प्रशोचन गर्ने भएको छ । 

केन्द्रीय बैंकले तरलता व्यवस्थापनका लागि प्रणालीबाट १० अर्ब रुपैयाँ निक्षेप उपकरणमार्फत प्रशोचन गर्न लागेको हो । 

केन्द्रीय बैंकका प्रवक्ता नारायण पौडलका अनुसार हाल अन्तर बैंक ब्याजदर २.९९ प्रतिशतमा झरेको छ । योसँगै प्रणालीमा ४० अर्ब रुपैयाँ भन्दा अधिक तरलता रहेको छ । 

केन्द्रीय बैंकले ३ प्रतिशत ब्याज दिएर प्रणालीबाट १० अर्ब उठाउन लागेको हो । निक्षेप उपकरण आगामी असार १९ गते परिपक्व हुनेछ । 

ब्याजदर करिडोर सम्बन्धी कार्यविधि, २०७४ मा भएको व्यवस्था अनुसार केन्द्रीय बैंकले बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि विभिन्न बित्तीय उपकरणमार्फत प्रणालीबाट तरलता प्रशोचन गर्छ भने कम भएमा रिपोमार्फत प्रणालीमा तरलता प्रवाह गर्छ । 

मौद्रिक नीतिका उद्देश्य तथा वित्तीय बजारको अवस्थालाई मध्यनजर गर्दै तरलता अनुगमन तथा प्रक्षेपण संरचनाले इंगित गर्ने तरलताको आधारमा ब्याजदर करिडोर मार्पmत् तरलता प्रवाह तथा प्रशोचन गरिनेछ । ब्याजदर करिडोरको माथिल्लो सीमाको रुपमा स्थायी तरलता सुविधाको दर ७ प्रतिशत रहेको छ । ब्याजदर करिडोर अन्तर्गत दुई हप्ता अवधिको रिपो दर नीतिगत दरको रुपमा ५ प्रतिशत रहेको छ । ब्याजदर करिडोरको तल्लो सीमाको रुपमा दुई हप्ता अवधिको निक्षेप संकलनको दर ३ प्रतिशत रहेको छ ।