काठमाण्डौ । पछिल्लो समय पुनरकर्जाको पैसा बजारमा जाँदा तरलता सहज बन्दै गएको छ। 

बैंकिङ प्रणाली तरलता थपिँदै गएपछि अन्तरबैंक कारोबारको ब्याजदर एक सातामै घटेर १.३८ प्रतिशतमा झरेको छ। गत बिहीबार अन्तरबैंक औसत ब्याजदर ३.३९ प्रतिशत थियो। जुन एक सातामै २.०१ प्रतिशतले घटेको हो। 

प्रणालीमा तरलता सहज हुँदा अन्तरबैंक ब्याजदर पनि घट्छ। तरलतामा दबाब पर्दा यस्तो ब्याजदर बढ्छ। 

केन्द्रीय बैंकका प्रवक्ता गुणाकर भट्टले बैंकहरुमा तरलता सहज हुँदै गएपछि अन्तरबैंक ब्याजदर घटेको बताए। 

ष्ट्र बैंकले १ खर्ब ४२ अर्ब बढी पुनरकर्जा स्वीकृत गरिसकेको छ। जसमध्ये बैंकहरुले यो सातासम्म १ खर्ब रुपैयाँ लगिसकेका छन्। ‘अब स्वीकृत पुनरकर्जामा बैंकहरुले लैजान बाँकी ४२ अर्ब रुपैयाँमात्र बाँकी छ’, भट्टले भने, ‘बजार पुनरकर्जाको रकम गएसँगै तरलता सहज बन्दै गइरहेको छ। सरकारले चैत लागेपछि पुँजीगत खर्च बढाएका पनि तरलता बढेको छ।’

अहिले प्रणालीमा ५० अर्ब रुपैयाँको हाराहारीमा तरलता रहेको भट्टले जानकारी दिए।