काठमाण्डौ । बैंकिङ प्रणालीमा दैनिकजसो निक्षेप थपिन थालेको छ। निक्षेप बढेसँगै बैंकहरुको औसत सीडी रेसियो पनि घट्न थालेको छ। 

नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार असार २२ गते एकैदिन बैंक तथा वित्तीय संस्थाको निक्षेप १४ अर्ब रुपैयाँले बढेको छ। योसँगै कुल निक्षेप ५० खर्ब ६१ अर्ब रुपैयाँ पुगेको छ। गत असार २१ गतेसम्म कुल निक्षेप ५० खर्ब ४७ अर्ब रुपैयाँ रहेको थियो।

उता वाणिज्य बैंकहरुको निक्षेप पनि यो दिन १३ अर्ब रुपैयाँले बढेको छ। गत असार २१ गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४४ खर्ब ५७ अर्ब रुपैयाँ रहेकोमा असार २२ गते बढेर ४४ खर्ब ७० अर्ब रुपैयाँ पुगेको छ। 

चालु आर्थिक वर्षको अन्तिम महिनामा सरकारी खर्च बढ्न थालेपछि बैंकहरुमा तरलता बढ्न थालेको हो। जसका कारण सीडी रेसियो लगातार घटिरहेको छ। 

उता बैंक तथा वित्तीय संस्थाहरुको कर्जा लगानी भने असार २२ गते ३ अर्ब रुपैयाँले घटेको छ। गत असार २१ गते बैंक तथा वित्तीय संस्थाहरुको कुल कर्जा लगानी ४७ खर्ब ६ अर्ब रुपैयाँ रहेकोमा असार २२ गते घटेर ४७ खर्ब ३ अर्ब रुपैयाँमा झरेको छ। 

वाणिज्य बैंकहरुको कुल कर्जा लगानी पनि ४ अर्ब रुपैयाँले घटेर ४१ खर्ब ७२ अर्ब रुपैयाँमा झरेको छ। गत असार २१ गते वाणिज्य बैंकहरुको कुल कर्जा लगानी ४१ खर्ब ७६ अर्ब रुपैयाँ रहेको थियो। 

निक्षेप बढेसँगै बैंकहरु औसत सीडी रेसियो असार २२ गते ८८.०६ प्रतिशतमा झरेको छ। गत असार २१ गते औसत सीडी रेसियो ८८.३५ प्रतिशत थियो।
अन्तरबैंक ब्याजदर भने ७ प्रतिशत रहेको छ।