काठमाण्डौ । बैंकिङ प्रणालीमा एकैदिन ४४ अर्ब रुपैयाँ थपिएको छ। 

नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार गत आर्थिक वर्षको अन्तिम दिन अर्थात असार ३२ गते एकैदिन बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप ४४ अर्ब रुपैयाँले बढेको हो। योसँगै असार ३२ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ५१ खर्ब ५३ अर्ब रुपैयाँ पुगेको छ। गत असार ३१ गतेसम्म कुल निक्षेप ५१ अर्ब ९ करोड रुपैयाँ रहेको थियो।

यो एक दिनमा वाणिज्य बैंकहरुको निक्षेप पनि ३६ अर्ब रुपैयाँले बढेको छ। योसँगै असार ३२ गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४५ खर्ब ४० अर्ब रुपैयाँ पुगेको छ। गत असार ३१ गतेसम्म कुल निक्षेप ४५ खर्ब ४ अर्ब रुपैयाँ थियो।

बैंक तथा वित्तीय संस्थाहरुले असार ३२ गते एकैदिन २३ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन्। गत असार ३१ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुको कुल कर्जा लगानी ४६ खर्ब ७७ अर्ब रुपैयाँ रहेकोमा असार ३२ गते बढेर ४७ खर्ब रुपैयाँ पुगेको छ। 

यो दिन वाणिज्य बैंकहरुको कर्जा लगानी २२ अर्ब रुपैयाँले बढेको छ। गत असार ३१ गतेसम्म वाणिज्य बैंकहरुको कुल कर्जा लगानी ४१ खर्ब ४६ अर्ब रुपैयाँ रहेकोमा असार ३२ गते बढेर ४१ खर्ब ६८ अर्ब रुपैयाँ पुगेको छ। 

बैंकिङ प्रणालीमा निक्षेप बढ्न थालेपछि बैंकहरुको सीडी रेसियो पनि घट्दै गएको छ। गत असार ३१ गते बैंकहरुको औसत सीडी रेसियो ८६.४९ प्रतिशत रहेकोमा असार ३२ गते घटेर ८६.२२ प्रतिशतमा झरेको छ। 

अन्तरबैंक ब्याजदर भने ६.९८ प्रतिशत रहेको छ।