– रेखा चन्द
काठमाण्डौ । नेपाल राष्ट्र बैंकको आजको सर्कुलरपछि बैंक तथा वित्तीय संस्थाले अब व्यक्तिगत तथा संस्थागत मुुद्दति निक्षेपको ब्याजदरमा कम्तीमा २ प्रतिशतको विन्दुले अन्तर राख्नुपर्ने भएको छ।
मौद्रिक नीतिका व्यवस्थाहरुलाई कार्यान्वयन गर्न राष्ट्र बैंकले आज बैंक तथा वित्तीय संस्थाको एकीकृत निर्देशनमा संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो। यसअघि व्यक्तिगत तथा संस्थागत मुुद्दति निक्षेपको ब्याजदरमा कम्तीमा १ प्रतिशतको विन्दुले अन्तर राख्नुपर्ने व्यवस्था थियो।
संस्थागत मुद्दति निक्षेप (बोलकबोलसमेत) मा प्रदान गरिने अधिकतम ब्याजदर सर्वसाधारणलाई मुद्दति निक्षेपमा प्रदान गरिने अधिकतम ब्याजदरभन्दा कम्तीमा २ प्रतिशतको विन्दुले कम हुनुपर्ने निर्देशनमा भनिएको छ।
राष्ट्र बैंकको यो व्यवस्थाले ब्याजदर बढ्छ भन्ने पुँजीबजारका जानकारहरुको मतमा भने बैंकिङ विश्लेषकहरुले फरक धारणा राखेका छन्। बैंकिङ विश्लेषकहरुले राष्ट्र बैंकले ल्याएको व्यवस्थाले तत्काल ब्याजदर बढ्ने सम्भावना नरहेको धारणा राखेका छन्।
पूर्वबैंकर पर्शुराम कुँवर क्षेत्री केन्द्रीय बैंकको सर्कुलरपछि तत्कालै ब्याजदर बढाइहाल्नु पर्ने जरुरी नरहेको बताउँछन्। ‘बैंकहरुले अहिले पनि राष्ट्र बैंकबाट साढे ८ प्रतिशतमा सजिलै एसएलएफ सुविधा पाइरहेका छन्। जतिबेलासम्म बैंकहरुले त्यो सुविधा पाउँछन् त्यतिबेलासम्म ब्याजदर बढाउनुपर्ने प्रेसर चाहिँ हुँदैनजस्तो लाग्छ’, उनी भन्छन्।
‘राष्ट्र बैंकले एसएलएफको कार्यविधि ल्याइसकेपछि रिपो कति छिटो र कति धेरै मात्रामा ल्याउँछ ? त्यो हेरेर ग्राहकको ब्याजदर के होला भनेर यकिन भन्न सकिएला’, क्षेत्रीले भने ‘अहिलेको परिदृश्य हेर्दा ब्याजदर बढ्न सक्ने पनि देखिन्छ।’
पूर्वबैंकर तथा विश्लेषक अजय मिश्र राष्ट्र बैंकको सर्कुलरले तत्काल बैंकको ब्याजदर ह्वात्तै बढ्ने सम्भावना कम रहेको बताउँछन्। उनले बैंकको कस्ट अफ फन्डलाई म्यानेज गर्नका लागि राष्ट्र बैंकले संस्थागत मुुद्दति निक्षेपको ब्याजदर कम गर्न खोजेको बताए। ‘व्यक्तिगत तथा संस्थागत मुुद्दति निक्षेपको २ प्रतिशतको अन्तरले व्यक्तिगतको ब्याज माथि जाँदैन, त्यो बढे कर्जाको ब्याज पनि बढ्छ’, उनले भने, ‘त्यसैले राष्ट्र बैंकले संस्थागतको ब्याजलाई घटाएर कस्ट अफ फन्डलाई म्यानेज गर्न खोजेको छ र यसले सम्रगमा ब्याजदर ह्वात्तै बढ्ने सम्भावना एकदम कम छ।’
वित्त विश्लेषक हेमन्त बस्याल पनि बैंकहरु ब्याजदर बढाउने अवस्थामा नरहेको बताउँछन्। राष्ट्र बैंकको सर्कुुलरपछि बैंक तथा वित्तीय संस्थाले पुुरानोलाई यथावत राखी नयाँ व्यक्तिगत तथा संस्थागत मुुद्दति निक्षेपमा ब्याजदर बढाउने वा घटाउन सक्ने उनको भनाइ छ। ‘सम्रगमा हेर्ने हो भने अहिले बैंकहरु ब्याज बढाउने कन्डिसनमा छैनन्’, उनले भने ‘तर, रेगुलेटरले यसरी भनेको अवस्थामा चाहिँ बैंक तथा वित्तीय संस्थाले पुुरानोलाई यथावत राखेर नयाँलाई ब्याजदर बढाउने र घटाउन सक्छन्।’
नेपाल बैंकर्स संघका सीईओ अनिल शर्माले आफूहरुले राष्ट्र बैंकको सर्कुलरका विषयमा अध्ययन गरिरहेको बताए। ‘अध्ययनपछि मात्रै बैंकको ब्याजदर बढाउने वा नबढाउने भन्ने निर्णय गर्छौं’, उनले भने।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago