काठमाण्डौ । बैंकिङ प्रणालीमा एकैदिन ३८ अर्ब रुपैयाँ थपिएको छ। 

नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार हिजो असोज २६ गते एकैदिन बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप ३८ अर्ब रुपैयाँले बढेको हो। अघिल्लो दिन बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ५० खर्ब ८७ अर्ब रुपैयाँ रहेकोमा असोज २६ गते बढेर ५१ खर्ब २५ अर्ब रुपैयाँ पुगेको छ। 

यो दिन वाणिज्य बैंकहरुको निक्षेपमात्रै ३६ अर्ब रुपैयाँ बढेको छ। गत असोज २५ गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४४ खर्ब ८१ अर्ब रुपैयाँ रहेकोमा असोज २६ गतेसम्म बढेर ४५ खर्ब १७ अर्ब रुपैयाँ पुगेको छ। 

यो एक दिनमा बैंक तथा वित्तीय संस्थाहरुको कर्जा लगानी २ अर्ब रुपैयाँले घटेर ४७ खर्ब २१ अर्ब रुपैयाँमा झरेको छ। अघिल्लो दिनसम्म कुल कर्जा लगानी ४७ खर्ब २३ अर्ब रुपैयाँ रहेको थियो। 

वाणिज्य बैंकहरुको कर्जा लगानी पनि १ अर्ब रुपैयाँले घटेर ४१ खर्ब ८२ अर्ब रुपैयाँमा झरेको छ। असोज २५ गतेसम्म वाणिज्य बैंकहरुको कुल कर्जा लगानी ४१ खर्ब ८३ अर्ब रुपैयाँ रहेको थियो। 

निक्षेप बढेसँगै बैंक तथा वित्तीय संस्थाहरुको औसत सीडी रेसियो पनि घटेर असोज २६ गते ८७.०१ प्रतिशतमा झरेको छ। अघिल्लो दिन सीडी रेसियो ८७.८१ प्रतिशत थियो।