काठमाण्डौ । बैंकिङ प्रणालीमा निक्षेप थपिने क्रम जारी नै रहेको छ। 

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार पछिल्लो ३ दिनमा बैंक तथा वित्तीय संस्थामा २१ अर्ब रुपैयाँ निक्षेप थपिएको छ। गत जेठ ३१ गतेसम्म बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ५५ खर्ब ४७ अर्ब रुपैयाँ रहेकोमा असार २ गतेसम्म बढेर ५५ खर्ब ६८ अर्ब रुपैयाँ पुगेको छ। 

यो अवधिमा वाणिज्य बैंकहरुको निक्षेप १७ अर्ब रुपैयाँले बढेको छ। असार २ गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४९ खर्ब ११ अर्ब रुपैयाँ रहेको छ। गत जेठ ३१ गतेसम्म कुल निक्षेप ४८ खर्ब ९४ अर्ब रुपैयाँ रहेको थियो। 

यो ३ दिनको अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाह हुने कर्जा १ अर्ब रुपैयाँले मात्रै बढेको छ। गत जेठ ३१ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुको कुल कर्जा लगानी ४८ खर्ब ५३ अर्ब रुपैयाँ रहेको असार २ गतेसम्म बढेर ४८ खर्ब ५४ अर्ब रुपैयाँ पुगेको छ।

निक्षेप बढेसँगै अन्तरबैंक ब्याजदर ४ प्रतिशत र औसत सीडी रेसियो ८३ प्रतिशतको लाइनमा झरेको छ। गत जेठ ३१ गतेसम्म अन्तरबैंक ब्याजदर ५.७४ प्रतिशतर औसत सीडी रेसियो ८४.५६ प्रतिशत रहेकोमा असार २ गतेसम्म घटेर क्रमशः ४.७२ प्रतिशत र ८३.९३ प्रतिशतमा झरेको छ।