काठमाण्डौ । बैंकिङ प्रणालीमा निक्षेप थपिने क्रम जारी नै रहेको छ। प्रणालीमा निक्षेप बढ्दै जाँदा अन्तरबैंक ब्याजदर र सीडी रेसियो पनि घटिरहेका छन्। 

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार असार १७ गते एकैदिन बैंक तथा वित्तीय संस्थाहरुमा ५ अर्ब रुपैयाँ निक्षेप थपिएको छ। गत असार १६ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ५६ खर्ब ८ अर्ब रुपैयाँ रहेकोमा असार १७ गतेसम्म बढेर ५६ खर्ब १३ अर्ब रुपैयाँ पुगेको छ। 

वाणिज्य बैंकहरुको कुल निक्षेप पनि असार १७ गते एकैदिन ६ अर्ब रुपैयाँले बढेर ४९ खर्ब ५७ अर्ब रुपैयाँ पुगेको छ। अघिल्लो दिनसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४९ खर्ब ५१ अर्ब रुपैयाँ रहेको थियो। 

बैंक तथा वित्तीय संस्थाको कर्जा प्रवाह भने सुस्त नै रहेको छ। गत असार १६ गतेसम्म बैंक तथा वित्तीय संस्थाको कुल कर्जा लगानी लगानी ४८ खर्ब ६२ अर्ब रुपैयाँ रहेकोमा असार १७ गतेसम्म पनि त्यति नै रहेको छ। 

असार १७ गतेसम्म वाणिज्य बैंकहरुको कुल कर्जा लगानी ४३ खर्ब ४ अर्ब रुपैयाँ रहेको छ। अघिल्लो दिन पनि कुल कर्जा लगानी त्यति नै थियो। 

निक्षेप बढ्न थालेपछि बैंकहरुको औसत सीडी रेसियो र अन्तरबैंक ब्याजदर भने निरन्तर घटिरहेको छ। असार १७ गतेसम्म औसत सीडी रेसियो घटेर ८३.४७ प्रतिशत र अन्तरबैंक ब्याजदर ३.४२ प्रतिशतमा झरेको छ। अघिल्लो दिनसम्म क्रमशः ८३.५५ प्रतिशत र ३.५७ प्रतिशत रहेको थियो। 

हाल बैंकिङ प्रणालीमा लगानीयोग्य रकम (तरलता) साढे ३ अर्ब रुपैयाँ बढी रहेको छ। तरलता थुप्रिए पनि कर्जा लगानी बढाउनेभन्दा पनि उठ्न नसकेको कर्जा असुलीमा बैंकहरुले फोकस गरेको देखिन्छ। ‘बैंकहरुको खराब कर्जा दर बढेको छ’, राष्ट्र बैंकका एक अधिकारीले भने, ‘त्यसैले खराब कर्जालाई मेन्टेन गर्न पनि अहिले बैंकहरुले कर्जा असुलीलाई बढी ध्यान दिइरहेका छन्। सोहीका कारणले बैंकहरुको कर्जा प्रवाह सुस्त देखिएको हो।’