काठमाण्डौ । नेपाल राष्ट्रबैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई पहिला झै दैनिक रिपोर्टिङ गर्ने कामलाई सुचारु गर्न निर्देशन दिएको छ । 

बैंक तथा वित्तीय संस्था नियमन विभागले एक परिपत्र जारी गर्दै यस्तो निर्देशन दिएको हो । 

यसअघि चैत १२ गते कोरोना भाइरसका कारण सिर्जित असहज परिस्थितिमा  बैंक तथा वित्तीय संस्थाहरुले राष्ट्रबैंकमा गर्नुपर्ने रिपोर्टिङ परिस्थिति सामान्य भई कार्यालय नियमित रुपमा खुलेको ७ कार्यदिनभित्र गर्ने व्यवस्था मिलाउन भनिएको थियो । 

तर, यो व्यवस्थाले संकटको बेला बैंक तथा वित्तीय संस्थाहरुको अवस्थाको विषयमा थाहा हुन छाडेपछि सो परिपत्रलाई खारेज गरी पहिलाको जस्तै दैनिक रिपोर्टिङको व्यवस्था मिलाउन भनिएको हो । 

विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ को प्रभाव मूल्याङ्कन तथा अध्ययन समेतका लागि वित्तीय क्षेत्रका तथ्याङ्क नियमित उपलब्ध हुनुपर्ने हुँदा संक्रमण जोखिमबाट सुरक्षित रहने उपाय अबलम्बन गरी अब उप्रान्त बैंक तथा वित्तीय संस्थाहरुले पूर्ववतः रुपमै नियमित रिपोर्टिङ गर्ने र गराउने व्यवस्था मिलाउन राष्ट्रबैंकले परिपत्र गरेको छ । 

यसअघिको निर्देशनका कारण बैंक तथा वित्तीय संस्थाका ‘ब्याक अफिस’ समेत बन्द रहेका थिए । तर, अब भने फाइनान्स विभागले समेत नियमित रुपमा कार्यालयमै पुगेर काम गर्नुपर्ने अवस्था सिर्जना भएको छ ।