काठमाण्डौ । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल(सिविफिन)को अध्यक्ष लगायत अधिकांश पदमा पुरानै अनुहार दोहोरिएको छ । 

आइतबार काठमाण्डौमा सम्पन्न संस्थाको तेश्रो साधारणसभाले पवन गोल्यानको अध्यक्षतामा कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो । 

अध्यक्षमा दोहोरिएका गोल्यान एनएमवी बैंकका अध्यक्ष हुन्।

यस्तै, सिविफिनको वरिष्ठ उपाध्यक्षमा मेगा बैंकका अध्यक्ष भोजबहादुर शाह, उपाध्यक्षमा महालक्ष्मी विकास बैंकका अध्यक्ष राजेश उपाध्याय दोहोरिएका छन् । 

महासचिवमा सिटिजन्स बैंक इन्टरनेशनलका अध्यक्ष राजनसिंह भण्डारी निर्विरोध भएका छन् । 

यस्तै, कोषाध्यक्षमा एनआइसी बैंकका अध्यक्ष तुल्सीराम अग्रवाल, कोषाध्यक्षमा रिलायन्स फाइनान्सका कुशप्रसाद मल्ली, सहकोषाध्यक्षमा हिमालयन बैंकका प्रचण्डबहादुर श्रेष्ठ निर्विरोध भएका छन् । 

यस्तै, सदस्यहरुमा नवील बैंकका उपेन्द्रप्रसाद पौडेल, प्रभू बैंकका लिलाप्रसाद सिटौला, कुमारी बैंकका उपेन्द्रकेशरी न्यौपाने, सनराइज बैंकका मोतीलाल दुगड, बैंक अफ काठमाण्डूका राधेश पन्त, एक्सेल विकास बैंकका महेन्द्रकुमार गोयल, मुक्तिनाथ विकास बैंकका भरतराज ढकाल र नेपाल फाइनान्सका हिरेन्द्रमान प्रधान निर्वाचित भएका छन् । 

सिविफिन बैंक तथा वित्तीय संस्थाका सञ्चालकहरुको छाता संगठन हो ।