काठमाण्डौ । गरिमा विकास बैंकले धितोपत्र बोर्डबाट स्वीकृत १० बराबर ७ दरको हकप्रद आगामी बैशाख १४ गतेदेखि निश्कासन गर्ने भएको छ । 

यो बैंकले १ सय रुपैयाँ अंकित मूल्यको कुल ९० लाख ७६ हजार २ सय ९६.६६ कित्ता हकप्रद निश्कासन गर्न लागेको हो । 

इच्छुक सेयरधनीले बैशाख १४ गतेदेखि जेठ १७ गतेसम्म तोकिएका केन्द्रमा गएर हकप्रदका लागि आवेदन दिनसक्ने व्यवस्था मिलाइने बैंकले जनाएको छ । 

बैंकले ७० प्रतिशत हकप्रदका लागि चैत ३० गतेलाई बुक क्लोजको मिति तय गरेको छ । यसको अर्थ चैत २९ गतेसम्म यो बैंकको सेयर खरीद गरेका वा आफ्नो नाममा नामसारी गरेकाहरुले मात्र हकप्रदका लागि निवेदन दिन सक्नेछन् । 

बैंकको हकप्रद निश्कासन तथा व्यवस्थापनमा एस क्यापिटल लिमीटेडले बिक्री प्रबन्धकको काम गर्नेछ । इच्छुक सेयरधनीले एस क्यापिटलको काठमाण्डौ, लालदरबारस्थित मुख्य कार्यालय, एस डेभलपमेन्ट बैंकका सबै शाखा कार्यालय, गरिमा विकास बैंक, महालक्ष्मी विकास बैंक र एक्सल डेभलपमेन्ट बैंकका सबै शाखा कार्यालयबाट हकप्रदका लागि आवेदन दिनसक्नेछन् । 

यो बैंकको हालको चुक्तापूँजी १ अर्ब २९ करोड रुपैयाँ रहेको छ । ७० प्रतिशत हकप्रद व्यवस्थापनपछि चुक्तापूँजी बढेर २ अर्ब २० करोड रुपैयाँको उचाईमा पुुग्नेछ । यो बैंकले चालुु आर्थिक वर्षको दोश्रो त्रैमाससम्ममा १६ करोडको हाराहारीमा खूद नाफा आर्जन गरेको थियो ।