काठमाण्डौ । प्रिमियम मूल्यमै एफपीओ खरीद गरे लगत्तै आकर्षक बोनस र हकप्रद समेत पाउने भएपछि नेपाल एसबीआई बैंकले खुलाएको एफपीओमा दोश्रो दिनमै मागभन्दा २२ गुणा बढी आवदेन परेको छ । 

यो बैंकले नेपाल राष्ट्रबैंकको नीति अनुसार आफ्नो कम्पनीमा संस्थापक र साधारण सेयरको सेयर स्वामित्व संरचना मिलाउन ६७ हजार ७ सय ६७.८७ कित्ता सेयरको अतिरिक्त निश्कासन पुस ११ गतेदेखि गरेको हो । प्रिमियमसहितको ९७१ रुपैयाँ प्रति कित्तामा खुलाइएको एफपीओमा थामिनसक्नुुको आवेदन परेको हो । 

बिक्री प्रबन्धक एनएमबी क्यापिटलका अनुसार एसबीआई बैंकको एफपीओमा पहिलो दिन ५ हजार ४ सय ४५ आवेदकबाट ५५ करोड ४९ लाख बराबरको प्रस्ताव परेको छ । यस्तै, दोश्रो दिन पुस १२ गते १० हजार ५२ आवेदनबाट ८९ करोड ९६ लाखको प्रस्ताव परेको छ । 

यो हिसाबले मागिएको एफपीओ भन्दा २२ गुणा बढीको आवेदन परिसकेको हो । 

लगानीकर्ताहरुलाई न्यूनतम १० कित्तादेखि अधिकतम ६७० कित्तासम्म एफपीओ भर्न पाउने व्यवस्था मिलाइएको छ । बुधबार र बिहीबार गरी एफपीओ भर्ने समय रहेको र सो अवधिसम्ममा निकै धेरै आवेदन पर्नसक्ने अनुमान बिक्री प्रबन्धकको काम गरिरहेको एनएमबी क्यापिटलका अधिकारीहरुले गरेका छन् । 

हाल नेपाल एसबीआई बैंकको संस्थापक र साधारण सेयरधनीको स्वामित्व संरचना ७०.१२ : २९.८८ प्रतिशत रहेको छ । एफपीओपछि यो संरचना ७० : ३० मा रुपान्तरण हुनेछ । 

यो बैंकले यसअघि आर्थिक वर्ष २०७२ ७३ को खूद नाफाबाट आफ्ना सेयरधनीलाई २८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.५३ प्रतिशत नगद लाभांश वितरणको घोषणा गरिसकेको छ । 
यसका साथै, बैंकले ४० प्रतिशत हकप्रद सेयरको समेत प्रस्ताव गरेको छ । 

एफपीओ पाउने सेयरधनीहरुले समेत प्रस्तावित बोनस सेयर र हकप्रद पाउने भएकाले एसबीआईको एफपीओमा आवेदन दिनेहरुको संख्या अचाक्ली देखिएको हो । 

यो बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३५ करोड ४४ लाख खूद नाफा आर्जन गरेको छ ।