काठमाण्डौ । केही दिनदेखि सेयर बजार निरन्तर ओरालो लागिरहेको छ। 

प्राविधिक रुपमा बजारलाई हेर्दा बोलिंगर ब्यान्डको मध्य ब्यान्डबाट तल झरेपछि लगातार ४ वटा राता क्यान्डल बनेका छन्। यसले बजारमा बिक्री दबाब रहेको संकेत गर्छ। 

दैनिक चार्टमार्फत आज बजारले बोलिंगर ब्यान्डको तल्लो विन्दु छोएको छ। म्याक्डीमार्फत हेर्दा गत २५ जनवरीमा बनेको बियरिस क्रसओभर हालसम्म पनि भ्यालिड नै छ। हिस्टोग्राम नेगेटिभ र लामा–लामा हुँदै गएका छन्।  यसले बजारमा बिक्री दबाब रहेको बुझिन्छ।

आरएसआई हाल ४३ को तहमा रहेको देखिन्छ। समग्रमा तीनवटै इन्डिकेटरहरुलाई मिलाएर हेर्दा बजार अझै केही समय साइडवेजमै चल्न सक्ने देखिन्छ। किनकि आज मूल्यरेखाले बोलिंगरको तल्लो विन्दुलाई छोए पनि म्याक्डीमा कुनै सुधार भएको अवस्था छैन। 

आरएसआई पनि अझै ४३ को तहमा रहेको छ। विगतमा आरएसआई ३० को ओभर सोल्ड जोनमा पुगेपछि र म्याक्डीमा हिस्टोग्राम छोटा–छोटा हुँदै फिक्का भएपछि मात्रै बजारले माथिको यात्रा तय गर्ने गरेको देखिन्छ। यसकारण बजारमा अझै केही समय बिक्री दबाब पर्न सक्ने देखिन्छ। 

आज अन्तिम समयमा बजार सूचकसँगै कारोबार पनि बढेकोले बजारमा  बिक्री दबाब रहेको बुझ्न सकिन्छ। दैनिक चार्टमा नै आज सुपर ट्रेन्डमा पनि बिक्री दबाब रहेको देखिन्छ। यस हिसाबले आगामी साता पनि बजारमा बिक्री दबाब नै रहन सक्ने देखिन्छ। 

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। यो विश्लेषण कारोबारका लागि भने सिफारिस होइन।