काठमाण्डौ । तीन दिनदेखि लगातार बढेको सेयर बजारमा साताको अन्तिम कारोबार दिन बिहीबार दोहोर अंकको गिरावट आएको छ। 

योसँगै बजारले बोलिंगर ब्यान्डको अप्पर ब्यान्डमा आज रातो मारुबुजु क्यान्डल बनाएको छ (हेर्नुहोस् कालो एरो)। यसले बजारमा नाफा बुक भएको बुझिन्छ। 

यदि बजार आगामी कारोबारमा करेक्सन आउँछ भने अब सपोर्ट लिन बजार मध्य ब्यान्डसम्म पनि आउन सक्छ। एकपटक बढेर घटेको बजार अब कति तलसम्म आउन सक्छ भनेर सहज रुपमा अनुमान लगाउने माध्यम भनेको फिवोनासी टुल्स नै बढी उत्तम रहन्छ। लगभग १८३५ बाट बढेको बजार अब करेक्सन हुँदै फिवोनासीको ०.२३ प्रतिशतको सपोर्ट १९२५ रहेको थियो। तर यो सपोर्टलाई आज बजारले भत्काइसकेको छ। 

अब नजिकको सपोर्ट भनेको ०.३८ प्रतिशतको १९०८ विन्दुसम्म, ०.५ प्रतिशतको १८९६ विन्दुसम्म र ०.६१ प्रतिशतको १८८० विन्दुसम्म बजार आउन सक्छ। यी कुनै पनि सपोर्ट विन्दुबाट बजारले पुनः माथिको यात्रा तय गर्न सक्ने प्रबल सम्भावना देखिन्छ। 

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। यो कुनै कारोबारका लागि सिफारिस भने होइन।