काठमाण्डौ । केही समय चूपचाप बसेर पुनः ब्याज वृद्धिको दौडमा लागेका बैंकरहरुलाई राष्ट्रबैंकले बोलाएर झपारेको छ ।
बैंकर्स संघले लामो समयसम्म कायम गरेको भद्र सहमति तोडिएलगत्तै केही साना बैंकबीच ब्याजदर बढाबढको लिगलिगे दौड सुरु भएपछि राष्ट्रबैंकले एक्सनमा उत्रिने संकेत गरेसँगै बैंकरहरु केही सम्हालिएका थिए । तर, साना बैंकले व्यक्तिगत मुद्धती निक्षेपको ब्याज बढाएर १३ प्रतिशत पुर्याएपछि त्यसले आफूहरुमा परिपक्व भएको निक्षेप समेत उतै जाने डरलाई कारण देखाउँदै ठूला बैंक समेत निक्षेप बढाउने रेसमा समाहित भएका हुन् ।
यही क्रममा नवील बैंकले मंगलबार मुद्धती निक्षेपमा साढे १३ प्रतिशत र हिमालयन बैंकले १३ प्रतिशत ब्याजको अफर गर्दै विज्ञापन सार्वजनिक गरेपछि यसले बैंकरहरुबीच रोकिएको ब्याज बढाबढको रेस पुनः सुरु हुने र अर्थतन्त्रले धान्नै नसक्ने उचाईमा ब्याजदर पुग्ने डरले राष्ट्रबैंकका अधिकारीहरुले बैंकरहरुलाई बोलाएर झपारेका हुन् ।
उनीहरुले ब्याज बढाएका ठूला बैंकका सीइओलाई ब्याज बढाउनुपर्ने कारण माग्दै थर्काएका थिए । ‘अहिले नै ब्याज बढाइहाल्नुपर्ने अवस्था किन भयो ? तपाईहरुलाई अराजक बनाउने कारक तत्व के हो ?’ भन्दै राष्ट्रबैंकका अधिकारीहरुले बैंकरहरुलाई थर्काएका थिए ।
एक बैंकरका अनुसार राष्ट्रबैंकका अधिकारी ठूला बैंक समेत साना बैंक झै अराजक बनी ब्याज वृद्धिमा लागेकोमा आक्रोशित देखिन्थे । ‘सरकारले अध्ययन समिति बनाएर मुद्रा बजारको समेत समस्या खोजिरहेको छ । यही बेला केही समय किन धैर्य गर्न नसक्नुभएको ?’ राष्ट्रबैंकका अधिकारीलाई उद्धृत गर्दै एक बैंकरले भने–‘तपाईहरुको यो अनियन्त्रित गति नरोकिए यसले दुष्परिणाम ननित्याउला भन्न सकिन्न । तपाईहरुले राष्ट्रबैंक कमजोर छ भनेर नसोच्नुहोला, हामी चूप लागेर बस्दैनौ ।’
छलफलमा राष्ट्रबैंकका अधिकारीहरुले आफूहरुले डेपुटी गभर्नरको संयोजकत्वमा गठन भएको उच्चस्तरीय अध्ययन समितिको प्रतिवेदन कुरेर बसेका र त्यसका आधारमा ब्याजदर नियन्त्रणका लागि आवश्यक उपायहरु अपनाइने समेत प्रष्ट पारेका थिए ।
त्यसअघि मंगलबार बिहानै पनि ब्याज बढाउने बैंकका सीइओलाई राष्ट्रबैंकका सम्बद्ध विभागका कार्यकारी निर्देशकले फोन गरेर थर्काएका थिए ।
‘आकस्मिक बैठक बस्नुपर्ने भयो’ भन्दै उनीहरु लगायतका बैंकरलाई केन्द्रीय बैंक बोलाइएको थियो ।
यसअघि ब्याजदर वृद्धिको रेसमा सामेल साना बैंकहरुलाई समेत राष्ट्रबैंकका अधिकारीहरुले थर्काएका थिए । ‘फोन गरेरै ब्याजदर वृद्धिको कारण मागिएको थियो ।’ राष्ट्रबैंक ब्याजदर नियन्त्रणका लागि केही गर्न खोजिरहेको थियो ।’ स्रोतले भन्यो–‘तर अर्थमन्त्री नै गम्भीर बनी समिति बनाएपछि अहिले राष्ट्रबैंक समेत केही समय पर्खिएर मात्र एक्सनमा जाने रणनीतिमा रहेको छ ।’
साना वाणिज्य बैंकहरुले आफ्नो सीसीडी अनुपात निकै टाइट भएपछि ब्याजदर बढाएर व्यक्तिगत निक्षेप आकर्षित गर्न खोजेसँगै यो विषयमा नेपाल बैंकर्स संघले समेत छलफल थालेको थियो । त्यसबेला नै बैंकहरुबीच १३ प्रतिशत भन्दा माथि नजाने र समस्याको कुनै समाधान ननिस्किएसम्म संयमित हुने सहमति बनेको थियो । तर, यो सहमतिलाई समेत बैंकरहरुले टेरेनन् । किन त ? ब्याजदर बढाएको बैंकका एक उच्च अधिकारीले बिजशालासँग भने–‘सहमति टेरेर के गर्नु, आफ्नो निक्षेप अरुले लगिइसक्यो । समस्याको समाधान निकाल्ने हो भने चाँडो निकाल्नुपर्छ, नभए ब्याज बढाबढको यो दौड अझै अगाडि बढ्ने जोखिम देखिन्छ । एक अर्काको निक्षेप तानातानको खेल बन्द हुने गरी कुनै विकल्प नआएसम्म अवस्था जटिल नै देख्छु ।’
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago