काठमाण्डौ। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कुनै बैंक तथा वित्तीय संस्थाले धेरै ब्याज लिएको भए सिधै उजुरी गर्न सुझाव दिएका छन् ।

आर्थिक पत्रकार समाजद्वारा काठमाण्डौमा आयोजित कार्यक्रममा उनले बाहिरमा चर्चामा रहेको अराजकतालाई सहयोग गर्नुको साटो प्रमाणसहित उजुरी दिन पनि अनुरोध गरे । 

उनले कुनै पनि बैंक तथा वित्तीय संस्थाले बढी ब्याज लिएको प्रमाणित भए फिर्ता गराउने बताए । उनका अनुसार गत आर्थिक वर्षमा केन्द्रीय बैंकले यसरी बढी ब्याज लिएको ४ अर्ब ७६ करोड रुपैयाँ बढी ब्याज रकम फिर्ता गराएको थियो। 

कतिपयले  बैंकले १६ देखि १८ प्रतिशत ब्याज लिने गरेको भन्दै प्रचार गर्ने गरेको भन्दै उनले यदि त्यसरी लिएको भए हल्ला गर्नुको साटो प्रमाणसहित उजुरी गर्न  आग्रह गरे ।

मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा प्राविधिक समस्याका कारण केहि पर सरेको बताउँदै उनले पछिल्लो समय आर्थिक शिथिलताका कारण बैंक तथा वित्तीय संस्थाको खराब कर्जा बढेको बताए ।

उनले निरन्तर खराब कर्जा बढे समस्या निम्तिने भन्दै यसका लागि नै लाभांशमा कडाइ गर्नु परेको बताए । साथै उनले राष्ट्र बैंकले सरकारसँग समन्वयात्मक रुपमा काम गरिरहेको बताए ।

यसैगरी,अधिकारीले व्यवसायीले आफ्नो क्षमता अनुसार मात्रै कर्जा लिनुपर्ने बताए ।

राष्ट्र बैंकले ब्याजदर बजारलाई छोडेको भन्दै स्प्रेडदर चार प्रतिशत झार्न निर्देशन दिएको बताए ।