काठमाण्डौ । नेपालको सबैभन्दा ठूलो नाडा अटो शो–२०२३ यही भदौ २६ गतेदेखि भदौ ३१ गतेसम्म काठमाण्डौ प्रदर्शनीमार्गको भृकुटी मण्डप परिसरमा आयोजना हुने भएको छ। 

यसै क्रममा नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले उक्त प्रदर्शनीका लागि बुकिङसमेत खुला गरेको छ। नाडाको आयोजनामा हरेक वर्षको दसैँअगाडि आयोजना हुँदै आएको नाडा अटो शो कोभिडको महामारीका कारण २०२० र २०२१ मा पनि आयोजना हुन सकेन भने नाडा अटो शो २०२२ पनि सरकारले गत वर्ष केही सवारीसाधनहरुको आयातमाथि लगाएको प्रतिवन्धका कारण आयोजना गर्न सकेको थिएन। यस्तो विपरीत स्थितिमा नाडाले आफ्नो इतिहासमा पहिलोपटक गत वर्ष भृकुटीमण्डपमा नाडा ईभी एक्सपो–२०२२ सम्पन गरेको थियो। 

आउँदो नाडा अटो शो–२०२३ मा विद्युतीयलगायतका चारपांगे्र, तीनपांग्रे तथा दुईपांगे्र सवारी तथा ढुवानीका साधन, स्पेयर पाटर्स, टायरट्युब, ब्याट्री, एसेसरिज, अटो कम्पोनेन्ट्स् एवं ग्यारेज उपकरणसमेत राखिनेछन्। 

त्यसैगरी प्रदर्शनीमा बैंक, इन्स्योरेन्सलगायत ट्राफिक, सडक सुरक्षा र वातावरणसँग सम्बन्धित संघसंस्थासमेत सहभागिता रहनेछ। झन्डै ४ वर्षपछि हुन लागेको यो बृहत प्रदर्शनीमा १ लाखभन्दा बढी दर्शकले अवलोकन गर्ने र करिब २० अर्बभन्दा बढीको कारोबार हुने अपेक्षासमेत राखिएको छ।

कोभिडको दीर्घकालीन असर, सरकारले केही सवारीसाधनको आयातमा लगाएको प्रतिबन्ध र प्रतिकूल मौद्रिक नीतिजस्ता विभिन्न कारणहरुले विगतमा सुस्ताएको अटोमोबाइल व्यवसामा हाल आएको सुधार तथा सकारात्मकतातर्फ अग्रसर भइरहेको राष्ट्रिय अर्थतन्त्रका कारण यो प्रदर्शनी गत वर्षहरुमा सम्पन्न प्रदर्शनीहरुभन्दा थप बृहत र भव्य हुने अपेक्षा आयोजकको छ। 

त्यसैगरी यो प्रदर्शनीमा नेपालभरिका अटोमोबाइल व्यवसायीहरुको अधिकतम सहभागिता रहने अपेक्षा आयोजकले राखेको छ।