काठमाण्डौ । ‘यदि म तुरुन्त रुस छोड्न पाउँछु भने म छोड्छु। तर, म जागिर छोड्न सक्दिनँ।’ 

यो भनाइ ३१ वर्षीय आन्द्रे केको हो। आन्द्रेले अब आफ्नो घरको किस्ता तिर्न सक्ने छैनन् किनभने रुसले ब्याजदरमा भारी वृद्धि गरेको छ।

आन्द्रेजस्तै लाखौँ रुसी जनताले अब पश्चिमी देशहरुले लगाएको आर्थिक प्रतिबन्धको सामना गरिरहेका छन्। प्रतिबन्धको उद्देश्य युक्रेनमा आक्रमण गरेकोमा रुसलाई सजाय दिनु हो।

आन्द्रे डिजाइनर हुन् । उनी भन्छन्, ‘म जतिसक्दो चाँडो ररुबाहिरका ग्राहक खोज्दैछु। ग्राहक पाएपछि घरको किस्ता तिर्न बचत गरेको पैसा लिएर म रुस छोड्नेछु।’

‘मलाई यहाँ डर लाग्छ। पार्टी लाइनभन्दा बाहिर बोलेको भन्दै कैयौँ व्यक्ति पक्राउ परेका छन्। सत्तारुढ दललाई भोट नदिए पनि म आफैँलाई लाज लाग्छ’, आन्द्रे भन्छन्। 

रुसमाथि लगाइएका यी प्रतिबन्धलाई अहिले आर्थिक युद्ध भनिएको छ । एउटा युद्ध, जसले रुसलाई अलग पार्छ र भयानक आर्थिक मन्दीमा धकेल्दैछ। पश्चिमा राष्ट्रका नेताहरुले आफूले उठाएका अप्रत्याशित कदमका कारण रुसले आफ्नो सोचमा परिवर्तन ल्याउने आशा गरेका छन् ।

तर, आमनागरिकको पैसा हेर्दाहेर्दै गायब भइरहेको छ। उनीहरुको जनजीवन नराम्ररी प्रभावित भएको छ।

फोनबाट भुक्तानी हुँदैन 

केही रुसी बैंकहरुविरुद्धको प्रतिबन्धको मतलब भिसा र मास्टरकार्ड प्रयोग गर्ने तिनीहरुका ग्राहक अब सक्षम छैनन्। यस कारणले गर्दा यी बैंकका ग्राहकलाई एप्पल पे र गुगल पेजस्ता सेवाहरु पनि उपलब्ध छैनन्।

३५ वर्षीया डारिया मस्कोमा प्रोजेक्ट म्यानेजर छिन्। कार्ड रिचार्ज नहुँदा उनी मेट्रोमा यात्रा गर्न सक्दैनन् । ‘म सधैं मेरो फोनबाट पैसा तिर्ने गर्थें तर अहिले त्यो काम गरिरहेको छैन। मजस्तै अरू धेरै छन्। वास्तवमा, मेट्रोमा प्रवेश भीटीबी बैं द्वारा सञ्चालित छ। अब यो बैंक प्रतिबन्धित छ। त्यसैले न गुगल पे काम गरिरहेको छ र न त एप्पल पे’, उनले भनिन्।

डारियाले भनिन्, “मैले मेट्रो कार्ड किन्नुपर्यो। यसबाहेक अहिले पसलहरुमा सामान किन्न पनि फोनबाट पैसा तिर्न सकिरहेको छैन।’

डलर तुलनामा कमजोर बन्यो रुबल

सोमबार रुसले रुसको ब्याजदर झन्डै दोब्बर गरी २० प्रतिशत पुर्याएको छ । भारी बेचबिखन हुने डरले देशका सेयर बजार बन्द भएका छन्।

रुसी सरकारले उनीहरुसँग प्रतिबन्धहरु सामना गर्न पर्याप्त साधन रहेको भनाइ छ तर यो बहसको विषय हो।

गत साता रुसको केन्द्रीय बैंकले वातावरणमा शान्त हुन अपिल गर्यो किनकि धेरै मानिसले एकैचोटि आफ्नो पैसा निकाल्ने प्रयास गर्न सक्छन् भन्ने डर कायम छ। यसले बैंकहरुमा थप दबाब पर्न सक्छ।

मस्कोको एटीएमबाहिर लाइनमा उभिएर एन्टोन भन्छन्, ‘डलर छैन। त्यहाँ रुबल छन् तर मलाई चाहिँदैन। मलाई अब के गर्ने थाहा छैन। मलाई लाग्छ हामी इरान वा उत्तर कोरियाजस्तै बन्दै गइरहेका छौँ।’ 

रुसमा विदेशी मुद्रा किन्नु अब गत साताको तुलनामा ५० प्रतिशत महँगो भएको छ। योसँगै यसको उपलब्धता पनि निकै कम भएको छ।

सन् २०२२ को सुरुमा एक अमेरिकी डलरबराबरा ७५ रुबल र एक युरोबराबर ८० रुबल थिए। तर, यो युद्धले नयाँ रेकर्ड बनाएको छ। सोमबार एक डलरबराबर ११३ रुबल पुगेको थियो।

डल र युरो निकाल्ने होड

रुबल डलरको दर लामो समयदेखि रुसी जनताहरुका लागि संवेदनशील मुद्दा भएको छ।

सोभियत संघको विघटनपछि सन् १९९० को दशकमा डलर त्यो मुद्रा थियो जुन रुसी जनताले आफ्नो बचतका रूपमा राखेका थिए तर लुकाइएको थियो।

सन् १९९८ मा तत्कालीन राष्ट्रपति बोरिस येल्तसिनको सरकारले आफ्नो बक्यौता तिर्न असफल हुँदा डलरमा पैसा राख्नेहरुले सुरक्षित महसुस गरे। यद्यपि आउँदो दशकहरुमा धेरै बैंकिङ उपायहरुले रुबलका बारेमा रुसी जनतालाई आश्वस्त पार्ने काम गरे। यसरी मानिसको निक्षेप रुसी मुद्रामा बढ्यो र रुसी कम्पनीहरुको सेयरहरुमा पनि लगानी गरियो। तर, आज पनि अनिश्चितताको वातावरण हुँदा मानिसहरु तुरुन्तै डलरमा पैसा निकाल्न नजिकैका एटीएमहरुमा पुग्छन्। 

अहिलेको परिस्थितिमा पनि ठ्याक्कै त्यस्तै भइरहेको छ । गत साता युक्रेनमा आक्रमण सुरु भएपछि रुसी जनताहरुले गत साता यस्तै अवस्थाबाट पाठ लिएर विभिन्न एटीएम बुथमा लाइन लगे।

३० वर्षभन्दा अलि बढी उमेरका इल्याले भर्खरै मस्कोमा आफ्नो ऋण चुक्ता गरेका छन्। अहिले यहाँबाट गएर नयाँ ठाउँमा बस्ने आर्थिक अवस्था नरहेको उनी बताउँछन् । ‘जब डोनबासमा सञ्चालन सुरु भयो, म मेरो बचतहरु निकाल्न एटीएम गएँ, जुन सेब्रे बैंकमा डलरमा राखिएको थियो। अब म त्यसलाई मेरो सिरानीमुनि राख्छु’, उनले भने, ‘ाँकी बचत अझै बैंकमा छ, जसको आधा डलरमा र बाँकी रुबलमा छ। यदि स्थिति बिग्रियो भने मैले धेरै बचत फिर्ता लिनुपर्नेछ। म पनि डराएको छु किनकि मलाई लाग्छ कि त्यहाँ धेरै लुटपाट हुन सक्छ।’ 

‘रुसबाट जीवन अझै खराब हुन सक्छ’

सामाजिक सञ्जालमा प्रसारित तस्बिरहरुले एटीएम र मुद्रा विनिमय केन्द्रहरुमा लामो लाइनहरु देखाउँछन्। मानिसहरु पनि चिन्तित छन् कि तिनीहरुको बैंक कार्डले काम गर्न छोड्छ वा मानिसहरुले झिक्न सक्ने नगद रकममा सीमा हुन सक्छ।

आक्रमणको केही घन्टाभित्रै डलर र युरोको उपलब्ध सकिन लागेको थियो। त्यसबेलादेखि ती मुद्राहरु थोरै मात्रामा उपलब्ध थिए। 

मस्कोमा लाइनमा उभिएकी ४५ वर्षीय इभजेनीले आफ्नो ऋण तिर्न पैसा निकाल्न चाहेको बताउँछिन्।

‘मलाई थाहा छ सबैजना चिन्तित छन्। सबैजना तनावमा छन्। यहाँको जनजीवन निकै खराब हुनेमा कुनै शंका छैन। यो युद्ध डरलाग्दो छ’, उनले भनिन्, ‘मलाई लाग्छ कि सबै देशले दोहोरो मापदण्ड अपनाएका छन् र अहिले ठूला देशहरुले एकअर्काको शक्ति नापिरहेका छन्। तर, आम जनताले दुःख भोगिरहेका छन्। –बीबीसीबाट भावानुवादित