काठमाण्डौ । नेपाल भलिबल संघले एन.भि.ए. अवार्ड सेरेमोनीमा प्रदान गर्ने वर्षको सर्वोत्कृष्ट टिम पुरुष र महिलाले पाउने पुरस्कारमा जनता बैंकले प्रायोजना गर्ने भएको छ । 

यो विषयमा बिहीबार जनता बैंक नेपाल लिमिटेडका नायब प्रमुखकार्यकारी अधिकृत अजयकुमार मिश्र र नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जनरमण शर्माबीच पुरस्कार प्रायोजन सम्बन्धी एक सम्झौतामा हस्ताक्षर भयो । 

सम्झौताअनुसार नेपाल भलिबल संघले एन.भि.ए. अवार्ड सेरेमोनीमा प्रदान गर्ने वर्षको सर्वोत्कृष्ट टिम पुरुष र महिलाका लागि नगद पुरस्कार रु. २ लाख (प्रतिटिम रु. एक लाख) जनता बैंकले प्रायोजन गर्ने छ । साथै उक्त प्रायोजन आगामी ५ वर्षसम्म उपलब्ध गराइनेछ । 

गत पुस १३ गते नेपाल राष्ट्रियअन्तराष्ट्रिय खेलाडी संघ (एनएनआईपिए)ले आयोजना गरेको खेलाडी सम्मान कार्यक्रममा वर्षको सर्वोत्कृष्ट खेलाडी पुरुष एक र महिला एक गरी रु. २ लाखको पुरस्कार पनि जनता बैंकको प्रायोजनमा प्रदान गरिएको थियो । 

सो पुरस्कार पनि आगामी ५ वर्षका लागि प्रदान गरिने गरी सम्झौता गरिएको छ । 

नेपाल भलिबल संघले भलिबल खेलको विकास र विस्तारको लागि निरन्तर रुपमा खटी काम गर्ने संघसंस्था, व्यक्तित्वहरु लगायत राष्ट्रिय र अन्तराष्ट्रिय क्षेत्रमा उत्कृष्ट खेल प्रदर्शन गर्ने टिम र खेलाडीहरुको मनोबल बढाउने उद्देश्यले २०७४ साल देखि एन.भि.ए. अवार्ड प्रदान गर्दै आइरहेको छ । दोस्रो एन.भि.ए. अवार्ड कार्यक्रम यही माघ ११ गते आयोजना हुँदैछ ।