काठमाण्डौ । अमेरिकी डलरको भाउ फेरि सर्वाधिक उचाईमा पुगेको छ । योसँगै नेपाली रुपैयाँ इतिहासमै सबैभन्दा बढी अवमूल्यनमा परेको छ । 

नेपाल राष्ट्रबैंकले आजका लागि तोकेको विनिमय दरअनुसार अमेरिकी डलरको भाउ हालसम्मकै उचाईमा पुगेको हो । 

आजका लागि एक अमेरिकी डलरको खरीददर १३३.१५ रुपैयाँ र बिक्रीदर १३३.७५ रुपैयाँ तोकिएको छ । 

दुई दिनअघि अमेरिकी डलरको मूल्य १३३.७४ रुपैयाँमा पुगेको थियो । त्यसदिनको सर्वाधिक उचाईको रेकर्डलाई ब्रेक गर्दै बिहीबार पुनः नयाँ उचाई प्राप्त गरेको हो । 

अमेरिकी डलरको भाउ बढ्दै जाँदा नेपालजस्तो विकासोन्मुख मुलुकलाई राम्रो र नराम्रो दुवै प्रभाव पर्छ । 

पछिल्लो समय नेपालले आन्तरिकसँगै वैदेशिक ऋण पनि थपिरहेको छ । त्यो ऋणको साँवा र ब्याज अमेरिकी डलरमै भुक्तानी गर्नुपर्दा भाउ बढ्दा देशको ढुकुटी दवाबमा पर्छ । 

नेपालको अर्थतन्त्र आयातमा आधारित छ । विभिन्न वस्तु तथा सेवाको आयात गर्दा अमेरिकी डलरमै  गर्नुपर्ने हुन्छ । यसरी आयातमा आधारित अर्थतन्त्रका लागि डलरको भाउ बढ्नु राम्रो होइन । 

तर, नेपालको अर्थतन्त्रको मेरुदण्ड मानिएको रेमिटान्स बजारका लागि भने यो सुखद हुनसक्छ । नेपालीहरुले विभिन्न देशमा काम गर्दा डलरमै पारिश्रमिक भुक्तानी पाउने हुँदा नेपाल पठाउने रेमिटान्स भने बढेर आउनेछ । 

अमेरिकी डलरसँगै यूरो, पाउण्ड स्टरलिङ लगायतको भाउ पनि ऐतिहासिक उचाईमा पुगेको छ ।