काठमाण्डौ । धेरै नेपालीहरुको उपचार गन्तव्य बन्दै आएको भारतको मेदान्तः द मेडिसिटी हस्पिटलमा सिटिजन्स बैंकको क्रेडिट तथा डेबिट कार्डबाहक ग्राहकहरुले १५ प्रतिशतसम्म छुट पाउने भएका छन् । 

बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल र हस्पिटलको उच्च व्यवस्थापनका अधिकारीहरुबीच शनिवार यस्तो सम्झौता भएको हो । 

सम्झौताअनुसार सिटिजन्स बैंकका डेबिट र क्रेडिट कार्डधारी ग्राहकहरुले अस्पतालको उपचार सेवा तथा मेडिकल जाँच सेवामा १५ प्रतिशतसम्म छुट पाउनेछन् । 

योसँगै बैंकका कार्डधारी ग्राहकले अस्पतालमा प्लाटिनम हेल्पडेस्कमार्फत डेडिकेटेड सेवा समेत पाउनेछन् । यस्तो सेवा चिकित्सकको अपोइन्टमेन्ट तथा अस्पतालका अन्य प्रशासनिक प्रक्रियाहरुमा समेत पाइने बैंकले जनाएको छ । 

बैंकका प्रमुख कार्यकारी अधिकृत पोखरेलका अनुसार यस्तो सम्झौतापछि सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरुले भारतको गुरगाउँ(दिल्ली), लखनउ, राँची र इन्दौरस्थित मेदान्त अस्पताल तथा तिनका शाखामा यो छुट र सुविधा पाउनेछन् । 

बैंकले यो सम्झौतालाई महत्वपूर्ण उपलब्धि समेत भनेको छ ।