काठमाण्डौ । इरानले भारतलाई तेल र ग्यास निर्यात गर्न प्रस्ताव गरेको छ। यसका लागि इरानले रुपैयाँ–रियाल प्रणाली पुनः सुरु गर्ने कुरा पनि गरेको छ।

भारतका लागि इरानका राजदूत अली चेगेनीले इरानले तेल र ग्यास निर्यातका लागि रुपया–रियाल व्यापार पुनः सुरु गरेर भारतलाई आफ्नो ऊर्जा आवश्यकता पूरा गर्न मद्दत गर्ने प्रस्ताव गरेका हुन्। चेगेनीले दुई देशले रुपैयाँ–रियाल पुनः सुरु गरेमा दुई देशबीचको द्विपक्षीय व्यापार ३० अर्ब डलर पुग्न सक्ने बताएका छन्।

इरान भारतको दोस्रो ठूलो तेल आपूर्तिकर्ता हो। तर, पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको आणविक सम्झौताबाट फिर्ता लिए र तेल निर्यातमा प्रतिबन्ध लगाएपछि भारतले इरानबाट तेल आयात बन्द गरेको थियो। 

चेगेनीले रुपैयाँ–रियाल व्यापार संयन्त्रले दुवै देशका कम्पनीहरुलाई एकअर्कासँग प्रत्यक्ष वार्ता गर्न र तेस्रो पक्ष मध्यस्थताको लागतबाट बच्न मद्दत गर्न सक्ने बताएका छन्। 

भारत र इरानबीच व्यापारका लागि एक बार्टर प्रणाली थियो। जसमा भारतीय तेल रिफाइनरीहरूले स्थानीय इरानी बैंकलाई रुपैयाँमा तिर्ने गर्थे र यो पैसा इरानले भारतबाट सामान आयात गर्न प्रयोग गर्यो। यसले इरानलाई भारतको लागि कच्चा तेलको सबैभन्दा ठूलो स्रोत बजार बन्न धकेल्यो र भारतको सबैभन्दा ठूलो आपूर्तिकर्ता साउदी अरेबियालाई पछाडि पार्यो।

तर, अमेरिकाले नाकाबन्दी लगाएपछि भारत–इरान व्यापार सन् २०१९ को १७ अर्ब डलरबाट घटेर अप्रिल–जनवरीबीच २ अर्ब डलरमा झरेको छ।

यसैगरी इरानमा प्राकृतिक ग्यास ढुवानीका लागि रोकिएको इरान–पाकिस्तान–भारत पाइपलाइन परियोजनालाई पुनः सुरु गर्न र वैकल्पिक मार्ग खोज्न नयाँदिल्लीसँग मिलेर काम गर्न पनि इरान इच्छुक देखिएको छ। 

सस्तोमा रुसी तेल उठाउन लागेको भारतलाई इरानले तेल र ग्यास आपूर्ति गर्ने भएपछि इन्धनको मूल्य घट्न सक्ने प्रक्षेपण भारतीय विश्लेषकहरुले गरेका छन्। 

यदि भारतमा इन्धनको मूल्य घट्यो भने नेपाललाई पनि राहात हुने सम्भावना छ। रुस–युक्रेन युद्धले इन्धन आपूर्ति चेन प्रभावित हुँदा विश्व बजारमा इन्धन मूल्य बढेको छ। जसको प्रत्यक्ष प्रभाव नेपाली बजारमा परेको छ। –एजेन्सीको सहयोगमा