काठमाण्डौ । पछिल्लो तीन दिन लगातार रुपमा भारतको सेयर बजारले सर्वाधिक उचाईको नयाँ नयाँ रेकर्ड बनाइरहेको छ । 
 

बजारमा उछाल आएसँगै त्यहाँका अर्बपतिहरुको सम्पत्ति समेत दैनिकजसो नै अपत्यारिलो गरी बढिरहेको छ । 

अडानी ग्रुपको चेयरमेन गौतम अडानीको नेटवर्थ बितेका ३ दिनमा दैनिकजसो नै रकेटको गतिमा बढिरहेको छ । गत २४ घण्टामा उनको सम्पत्ति १२.३ अर्ब डलरले बढेको छ । सम्पत्ति ह्वात्तै बढेपछि उनी विश्वका अर्बपतिहरुको सूचीको १५ औं स्थानमा उक्लिएका छन् । 

यो २४ घण्टामा विश्वका अर्बपतिहरुमध्ये सबैभन्दा बढी सम्पत्ति कमाउने व्यक्ति समेत बन्न अडानी सफल भएका छन् । उनको सम्पत्ति २४ घण्टामै करिब साढे ३ खर्ब रुपैयाँले बढेको छ । 

ब्लुमबर्ग बिलेनियर्स इण्डेक्सका अनुसार सोमबार गौतम अडानीले करिब ४ अर्ब डलरभन्दा बढी कमाएका थिए भने मंगलबार भने १२.३ अर्ब डलर कमाए । एक दिनमा अडानीले गरेको कमाई अहिलेसम्म अरु अर्बपतिबाट सम्भव भएको थिएन । 

पछिल्लो २४ घण्टाको कुरा गर्ने हो भने एलन मस्कको सम्पत्ति २.२५ अर्ब डलर, जेफ बेजोसको १.९४ अर्ब डलर तथा बर्नार्ड अर्नल्टको २.१६ अर्ब डलरले बढेको छ । यी तीन अर्बपति अहिले विश्वका सबैभन्दा बढी सम्पत्ति हुनेहरुको सूचीमा टप थ्रीमा पर्छन् । 

सेयर बजार बुम भएकै कारण गौतम अडानीको सम्पत्ति उछालको गतिमा बढेको हो । यहीकारण उनी अर्बपतिहरुको सूचीको २० औं नम्बरबाट उक्लिएर १५ औं स्थानमा आइपुगेका छन् । उनको कुल सम्पत्ति ८२.५ अर्ब डलर पुगेको छ । 

अडानीका कम्पनीहरुको सेयरमूल्य उछालको गतिमा बढ्दा त्यसको फाइदा भएको देखिन्छ । बितेका तीन दिन सेयर बजारमा सूचीकृत अडानीका १० वटा कम्पनीको सेयरमूल्य रकेटको गतिमा बढेको छ । 

मंगलबार मात्रै पनि अडानीको टोटल ग्यास कम्पनीको सेयरमूल्यमा १८.६६ प्रतिशत, अडानी ग्रीन इनर्जीको १४.१ प्रतिशतले बढेको छ । यसका साथै अडानी पोर्ट, अडानी पावर, अडानी विल्मर जस्ता कम्पनीको सेयरमूल्य पनि उछालको गतिमा बढेको छ ।