काठमाण्डौ । मलेसिया आसियान क्षेत्रमा भारतसँगको द्विपक्षीय व्यापार भारतीय रुपैयाँ (भारु)मा मिलाउने पहिलो देश बनेको छ। यस सम्बन्धमा दुई देशबीच सम्झौता पनि भइसकेको छ। 

यस सन्दर्भमा मलेसियाको क्वालालम्पुरस्थित इन्डिया इन्टरनेसनल बैंकलाई आरबीआईले भारतको सरकारी स्वामित्वको युनियन बैंक अफ इन्डियामा भोस्ट्रो खाता खोल्न अनुमति दिएको छ। एक दिनअघि भारतले घोषणा गरेको वैदेशिक व्यापार नीतिमा भारुको अन्तर्राष्ट्रिय व्यापारलाई विशेष प्रोत्साहन दिइएपछि यस्तो निर्णय गरिएको हो।

भारतको विदेश मन्त्रालयका अनुसार अब भारत र मलेसियाले आफ्नो अन्तर्राष्ट्रिय व्यापारमा अन्य मुद्राबाहेक भारु प्रयोग गर्ने भएका छन्। यो निर्णय आरबीआईले जुलाई २०२२ मा घोषणा गरेको नीतिपछि लिइएको हो। जसमा अन्तर्राष्ट्रिय व्यवसायहरूलाई रुपैयाँमा सेटलमेन्ट गर्न अनुमति दिइएको छ।

भारुमा व्यापार प्रवर्द्धन गर्न र विश्वभर बसोबास गर्ने भारतीय व्यापारीको सुविधा बढाउन आरबीआईले यो कदम चालेको हो। केही दिनअघि मात्रै भारतको अर्थ मन्त्रालयले संसदमा आरबीआईले १८ देशका ६० बैंकलाई भारतीय रुपैयाँमा अन्तर्राष्ट्रिय व्यापार गर्न विशेष भोस्ट्रो बैंक खाता खोल्न अनुमति दिएको जानकारी दिएको थियो।

जसका बैंकहरुलाई यो अनुमति दिइएको छ ती देशहरुमा बोत्सवाना, फिजी, गुयाना, जर्मनी, इजरायल, केन्या, मलेसिया, मौरिसस, म्यानमार, न्यूजिल्याण्ड, ओमान, रसिया, सेशेल्स, सिंगापुर, श्रीलंका, तान्जानिया, युगान्डा र बेलायत पर्छन्। 

मलेसिया सायद पहिलो देश हो, जसको बैंकले आरबीआईबाट अनुमति लिएर भोस्ट्रो खाता खोल्ने भारतीय बैंक पनि छनोट गरेको छ।

अन्य देशका तर्फबाट पनि यस विषयमा विस्तारै अगाडि बढ्ने सम्भावना छ। यी देशको सूचीमा अहिलेसम्म रुसमात्रै यस्तो देश हो, जसले भारतसँग रुपैयामा व्यापार गर्न खुलेर जोड दिइरहेको छ। –एजेन्सी