नयाँदिल्ली । मोदी सरकारले कालोधनमाथि अंकुश लगाउने उद्देश्यले ५ सय र १ हजार भारुको नोट बन्द गर्ने निर्णय गरेको छ । यो निर्णयको असर भारतमा मात्र परेको छैन, भारतका छिमेकी मुलुकहरुमा समेत उत्तिकै देखिएको छ । कतिपय देशको विनिमय दरले त यही निर्णयका कारण अनपेक्षित रुपमा ठूलै पहिरोको सामना गरिरहेको छ ।
बंगलादेश
बंगलादेशी वेबसाइट ‘बीडीन्यूज २४ डटकम’का अनुसार भारतमा हजारौं बंगलादेशी प्राय उपचारका लागि आउने गर्छन् । मोदी सरकारको यो कदमबाट यसरी उपचारका लागि भारत आउनेहरु बढी प्रताडित हुनेछन् ।
वेबसाइटको रिपोर्टअनुसार बंगलादेशको जेसोरमा बसोबास गर्ने शेख मुदस्सर अली आफ्नो मृगौलाको उपचार कोलकातामा गराइरहेका छन् । अलीका भाईले वेबसाइटसँग भने–‘अस्पतालले १ सय रुपैयाँको मात्र नोट लिने कुरा गरेको छ । जब कि मेरो साथमा १ सय रुपैयाँको एउटा पनि नोट छैन ।’
यसैगरी, साइमा भारत–बंगलादेश सीमामा टाकालाई भारुमा साटेर किमोथेरापीका लागि कोलकाता आइरहेकी थिइन्, तर नोटकै कारण उनी उपचार नगराई स्वदेश फर्किइन् । कारण, अस्पतालले प्रतिबन्धित नोट बिरामीबाट लिन अस्वीकार गरिदियो ।
नेपाल
नेपालको अखबार काठमाण्डौ पोष्टका अनुसार केन्द्रीय बैंक, नेपाल राष्ट्र बैंकले भारतले प्रतिबन्ध लगाएको नोटलाई नेपालमा समेत कारोबारमा बन्देज लगाइदिएको छ ।
यसको असर नेपालको कारोबारमा निकै ठूलो रुपमा हुनसक्छ, कारण त्यहाँ भारतीय मुद्रा अधिक प्रचलनमा रहेको छ ।
नेपाल राष्ट्रबैंकको विदेशी मुद्रा विनिमय विभागका प्रमुख भीष्मराज ढुंगानाका अनुसार नेपालमा लगभग १३ करोड पचास लाख भारतीय रुपैयाँ प्रचलनमा रहेको छ ।
म्यान्मार
म्यान्मारका व्यापारी मोदी सरकारको यो कदमबाट निराश छन् । कारण, यो कदमका कारण त्यहाँको मुद्रा विनिमय दर निकै तल पुगेको छ ।
वेबसाइट ‘द डमोक्रेटिक वायस अफ बर्मा’का अनुसार म्यान्मारको सीमामा रहेको कस्बे टापुका व्यापारीहरुले यो कदमबाट निकै ठूलो नोक्सानी सहनु परिरहेको छ । यहाँका एक व्यापारीका अनुसार यहाँका व्यक्ति त्यहाँबाट सामान उठाएर सीमामा भारतीय व्यापारीहरुलाई निर्यात गर्छन् । यस्तो व्यापारको भुक्तानी सधैं नोटमै हुने गरेको छ । ती व्यापारीले भनेका छन्–‘अब हामीसँग रुपैयाँको भण्डार नै छ । तर अब हामीले हाम्रो देशमा रहेका ग्राहकलाई भुक्तानी दिन भारुलाई आफ्नो देशको मुद्रामा कन्भर्ट गर्नुपर्छ । यस्तो कदमका कारण मुद्रा विनिमय दर परिवर्तन भएको छ । अब हामीले यही कुराका कारण धेरै दिक्दारी भोगिरहनु परेको छ ।’
सिंगापुर
सिंगापुरको स्थानीय अखबार ‘द स्ट्रेट्स टाइम्स’का अनुसार त्यहाँका धेरै मानिस पुरानो भारतीय नोट बदल्ने निकै प्रयास गरिरहेका छन् । तर, न कुनै बैंक वा न कुनै मनी चेञ्जरले नोट सटहीका लागि स्वीकार गरिरहेका छन् ।
अखबारका अनुसार मोदी सरकारको यो कदमको असर भारतमा मात्र होइन, अन्य कयौ देशसम्म पर्नसक्छ ।
सिंगापुरको एक निर्माण कम्पनीसँग सम्बद्ध सुपरभाइजरले लगभग २० हजार भारतीय रुपैयाँ बचाएका थिए, जुन पैसालाई आगामी वर्षको छुट्टीमा भारतमा खर्च गर्ने उनको योजना थियो । तर, अब उनको सामु जटिल समस्या आइपरेको छ, कारण उनीसँग भएको त्यो रकम न मनि चेञ्जर र न कुनै बैंकले स्वीकार गरिरहेको छ ।
सिंगापुरको लिटिल इण्डिया डिस्ट्रिक्टका मनि चेञ्जर अब्दुल मलिकले यो कुरालाई स्वीकार गर्दै भनेका छन् कि उनले पुराना भारतीय नोट लिने र दिने दुवै काम बन्द गरेका छन् ।
मलेशिया
‘फ्रि मलेशिया टुडे’ वेबसाइटका अनुसार मलेशियाबाट भारत आउने पर्यटकहरुलाई समेत मोदी सरकारको यो कदमका कारण हैरानी खेप्नु परिरहेको छ । किनभने मनि चेञ्जरहरुले नोट सटही गर्न बन्द गरिदिएका छन् ।
मलेशियन एसोसिएसन अफ मनि सर्भिसेज विजिनेशका अनुसार उनीहरुलाई यो विषयमा अहिलेसम्म भारतीय उच्चायोगबाट कुनै स्पष्ट निर्देशन प्राप्त भइसकेको छैन ।
बहराइन, कतार, तथा संयुक्त अरब इमिरेट्स समेत कयौं खाडी मुलुकमा कयौं भारतीय बस्ने गरेका छन्, यी ठाउँमा बस्नेमध्ये अधिकांश भारतीय केरलाबाट आएका हुन् ।
यी देशहरुमा समेत मोदी सरकारको घोषणाका कारण निकै ठूलो हैरानी व्यहोर्नु परिरहेको छ । किनभने भारत सरकारको स्पष्ट निर्देशन नआएका कारण भारतीय स्टेट बैंक तथा बैंक अफ बडौदाजस्ता भारतीय बैंकका शाखाहरुले पुरानो नोटलाई सटही गर्न बन्द गरिदिएका छन् ।
यूएई एक्सचेञ्जका प्रमुख अफसर प्रमोद मंगतले भने–‘हाम्रा सबै विनिमय केन्द्रहरुले मंगलबार रातदेखि नै सबै नगद लिने र दिने काम रोकिदिएका छन् । तर पनि मानिसहरु हाम्रा शाखाबाट केही भाइहाल्छ कि भन्ने आशा लिएर आउनेजाने क्रम चलि नै रहेको छ ।’
बीबीसी हिन्दीको सहयोगमा
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago