काठमाण्डौ । भियतनाममा कोभिड–१९ नियन्त्रण गर्न लागू गरिएको नियम उल्लंघन गरेको तथा कोरोनाभाइरस फैलाएको अभियोगमा एक व्यक्तिलाई ५ वर्ष जेल सजाय सुनाइएको छ।

भियतनामको एक अदालतले ले भान ट्री नाम गरेका व्यक्तिले ‘खतरनाक संक्रामक रोग’ ८ जनालाई सारेको ठहर गरेको हो। ती ८ जनामध्ये एकजनाको कोरोनाकै कारण मृत्यु भएको पनि अदालतले जनाएको छ। 

गत जुलाईमा २८ वर्षीय ट्री राजधानीबाट मोटरसाइकलमा देशको दक्षिण भेगमा अवस्थित आफ्नो घर भएको सा माऊ प्रान्त गएको बताइएको छ। सा माऊमा उनले स्वास्थ्य फारम भर्दा यात्रासम्बन्धी विवरणबारे असत्य कुरा लेखेको पाइएको थियो। अनि उनले आइसोलेसनसम्बन्धी नियम पनि पालना नगरेको पाइएको अदालतले जनाएको छ। 

स्थानीय निकायले त्यतिबेला अरु प्रान्तबाट सा माऊ आउने सबै मानिसले तत्कालै २१ दिन अरुबाट अलग्गिएर बस्नुपर्ने नियम लागू गरेको थियो। 

ट्रीलाई पछि कोभिड भएको पुष्टि भयो। उनीबाटै उनको परिवारका अन्य सदस्य र उनले भ्रमण गरेको एउटा कल्याणकारी संस्थाका कर्मचारीलाई कोरोनाभाइरस सरेको पाइयो।

अदालतको आदेशसँगै ट्रीलाई कारागार चलान गरिएको छ। उनलाई ८०० डलरबराबर जरिवाना तिराइएको छ। 

केही समयअघिसम्म भियतनाममा कोभिड नियन्त्रण गर्न कडा प्रतिबन्धहरू सफलतापूर्वक लागु गरिएको थियो। तर जुन महिनादेखि अतिसंक्रामक मानिएको डेल्टा भेरिअन्टका कारण त्यहाँ कोभिड तीव्र गतिमा फैलियो।

भियतनाममा ५ लाख ३० हजार जनाभन्दा बढी मानिस कोरोना संक्रमित भइसकेका छन्। तीमध्ये १३ हजार ३०० जनाको मृत्यु भएको तथ्यांक छ।

अधिकांश संक्रमितहरु राजधानी हो चि मिन्ह सिटीमा फेला परेका छन्। –बीबीसीबाट