काठमाण्डौ । साताको पहिलो कारोबार दिन आइतबार नेप्सेमा उच्च उतारचढाव भइरहेको छ ।

भूतप्रभावी करको दबाव बजारमा पर्दा उच्च उतारचढाव देखिएको हो ।साताको अन्तिम कारोबार दिन बिहीबार सेयरबजार ६.५५ अंकले बढेर १ हजार ९९४.६० को विन्दुमा बन्द भएको थियो । तर यो दिन कारोबार सुरु भएको केहि मिनेटमा  दुई प्रतिशतभन्दा धेरै घटेको बजार पुनः फर्किन कोसिस गरेको थियो ।

कारोबार खुलेको ५ मिनेट भित्रमा नै नेप्से सूचक ४३ अंक अर्थात् २ प्रतिशत झरेको बजार फेरि २.०५ प्रतिशतले बढेको छ । यो समाचार तयार पार्दाको समय १ बजेसम्ममा नेप्से करिब तीन अंकले घटेर १ हजार ९९६मा पुगेको छ भने कारोबार २ अर्ब ४८ करोड रुपैयाँभन्दा बढी भएको छ ।

बजारमा भूगोल इनर्जि डेभलपमेन्ट कम्पनी र मुक्तिनाथ कृषि कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

चालू आर्थिक वर्ष २०८०/ ०८१ को बजेटमार्फत सेयर प्रिमियम र पर्चेज गेनमा कर लाग्ने गरी व्यवस्था भएको र हालै मात्र भएको सर्वोच्च अदालतको निर्णयका आधारमा सूचीकृत कम्पनीहरुले ठूला करदाता कार्यालयमा कर बुझाएका छन् ।

नेपाल स्टक एक्सचेन्जमा सूचीकृत कम्पनीहरुले झन्डै १३ अर्ब रुपैयाँ कर सरकारलाई बुझाएका छन्।

एफपीओ र स्वापमा कर लाग्ने अदालतको फैसलापछि गत शुक्रबार र शनिबार गरेर ४१ वटा कम्पनीले १२ अर्ब ४७ करोड कर सरकारको खातामा दाखिला गरेका हुन्।

आर्थिक ऐन २०८० बमोजिम सूचीकृत कम्पनीहरुले मर्जर र एफपीओको कर सम्बन्धी मुद्दा हारेपछि बजारमा त्यसको दबाब परेको कपितय लगानीकर्ताहरुले बताएका छन् ।

सूचीकृत कम्पनीहरुले झन्डै १२ अर्ब रुपैयाँ कर बापत तिरेपछि सेयरधनीले पाउने लाभांशमा पर्ने असर बारे चर्चा सुरु भएको छ।

कतिपय लगानीकर्ताले लाभांशमा ठूलो असर पर्ने भनिरहेका छन् भने कतिपयले नियामकले सहजीकरण गरेमा नपर्ने टिप्पणी गरेका छन् ।