काठमाण्डौ । प्रतिकित्ता १९१६ रुपैयाँ अन्तिम बिक्री मूल्य भएको स्वरोजगार लघुवित्त विकास बैंक लिमीटेडको सेयर सस्तोमै उठाउने अवसर भोलिदेखि खुल्ने भएको छ ।  यो माइक्रोफाइनान्स कम्पनीले संस्थापक समूहतर्फको १५८४.७४ कित्ता सेयर(संस्थापकका लागि मात्रै) र सर्वसाधारण समूहतर्फको १३९६.८६ कित्ता बोलकबोलबाट बिक्री गर्ने भएको हो । 

बिहीबार बोलकबोल सम्बन्धी एक सूचना प्रकाशित गर्दै स्वरोजगार लघुवित्तको सेयर लिलामी प्रक्रियामा बिक्री प्रबन्धकको काम गरिरहेको एनएमबी क्यापिटल लिमीटेडडले शिलबन्दी बोलपत्र आह्वान गरेको हो । 

यो लघुवित्तले २०७४ असार १ गतेदेखि साउन ४ गतेसम्म हकप्रद निश्कासन गरेको थियो । सो क्रममा साबिकको सेयरधनीबाट खरीदका लागि दाबी नपरेको सेयर लिलामीबाट बिक्री गर्ने उद्देश्यले बोलपत्र आह्वान गरिएको हो । 

आगामी भदौ ८ गतेदेखि १६ गतेसम्म लिलामी प्रक्रियामा सहभागिताका लागि शिलबन्दी बोलपत्र पेश गर्न सकिने बताइएको छ । एनएमबी बैंकको नागपोखरी(काठमाण्डौ)स्थित मुख्य कार्यालयमा बोलपत्र पेश गर्नुपर्नेछ । 

इच्छुक लगानीकर्ताले प्रतिकित्ताको न्यूनतम मूल्य १ सय रुपैयाँ र न्यूनतम १०० कित्ताका लागि आवेदन दिनुपर्नेछ । 

परेका आवेदनहरुलाई जम्मा गरी भदौ १८ गते संस्थापक समूहतर्फको शिलबन्दी बोलपत्र अपरान्ह ३ बजे र सर्वसाधारण समूहतर्फको शिबलन्दी बोलपत्र अपरान्ह ३ः३० बजे खोलिने बताइएको छ ।