काठमाण्डौ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले मधेश प्रदेशमा ९ प्रतिशतमा सीमित रहेको बीमाको पहुँच उल्लेख्य रुपले बढ्ने गरी कार्य गर्न बीमा कम्पनीहरुलाई निर्देशनदिएका छन् ।

नेपाल बीमा प्राधिकरणबाट बुधबार मधेश प्रदेशको धनुषा जिल्लाको जनकपुरधाममा आयोजित बीमा कम्पनीका प्रदेश, शाखा र उपशाखा कार्यालयका प्रमुख तथा सरोकारवाहरुसँग आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष सिलवालले बीमा ऐन, नियमावली, निर्देशिका र निर्देशनहरुको पूर्ण पालना गर्दै स्वच्छ व्यवसाय गर्न बीमकहरुलाई निर्देशन दिएक हुन्। बीमा कम्पनीका कर्मचारीहरुको दक्षता अभिवृद्धिका लागि प्राधिकरणले इस्योरेन्स इन्स्टिच्युट नेपालाई तालिम सञ्चालन गर्न लगाउने जानकारी दिँदै उनले स्थानीय आवश्यकताअनुरुपको नयाँ बीमालेख ल्याउनका लागि केन्द्रीय कार्यालयसँग आग्रह गर्न, बैंक र बीमा फरक हुन् भन्ने बारेमा सबैलाई बुझाउन र त्रुटी नहुने गरी काम गर्न बीमकका प्रदेश, शाखा तथा उपशाखा कार्यालयहरुलाई निर्देशन दिए। 

अध्यक्ष सिलवालले प्राधिकरणका प्रदेश कार्यालयहरुसँग समन्वय गरेर कार्य गर्न निर्देशन दिँदै बीमाका सिद्धान्तविपरीत बीमा व्यवसाय नगर्न र दाबी भुक्तानीमा समस्या नआउने गरी प्रस्तावको पर्याप्त विश्लेषण गरेर बीमा गर्नसमेत निर्देशन दिए। 

बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमाप्रति जनविश्वास बढ्ने गरी कार्य गर्न र स्वच्छ प्रतिस्पर्धाका आधारमा व्यवसाय गर्न बीमा कम्पनीहरुलाई निर्देशन दिए। 

कार्यक्रममा बीमा प्राधिकरणका निर्देशक दिनेशकुमार लालले बीमकका प्रदेश, शाखा तथा उपशाखा कार्यालयहरुले सुशासन कायम गर्दै गुनासो नआउने गरी काम गर्नुपर्ने बताए।

कार्यक्रममा सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डे र नेपाल इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत बीके महर्जनले छलफलमा उठेका प्रश्नहरुको जबाफ दिएका थिए।